संविधानसभा अध्यक्ष एवं एमाले नेता सुवास नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि



काठमाडाैँ । संविधानसभा अध्यक्ष एवं एमाले नेता सुवासचन्द्र नेम्वाङको हिन्दू र लिम्बू संस्कारअनुसार अन्त्येष्टि गरिएको छ ।

उनलाई पशुपति आर्यघाटमा छोराहरु मिङसो र सुहाङ नेम्वाङले दागबत्ती दिएका छन् । लगत्तै नेपाली सेनाको टोलीले शोक धुन बजाएको थियो । उनको पार्थिव शरीरमा प्रधानमन्त्री प्रचण्डले राष्ट्रिय झण्डा तथा एमाले अध्यक्ष ओलीले पार्टीको झण्डा ओढाएर सम्मानसहित अन्तिम बिदाई गरे ।

प्रधानमन्त्रीसहित शीर्ष नेताद्वारा नेम्वाङप्रति श्रद्धाञ्जलि
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरुले संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गरेका छन् । प्रधानमन्त्री दाहालले पशुपति आर्यघाटमा राष्ट्रिय झण्डा ओढाएर नेम्वाङप्रति श्रद्धाञ्जलि व्यक्त गरे । यसैगरी नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे ।

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गरे । राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शवयात्रा आर्यघाट ल्याइएको थियो । नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो ।

यही भदौ २६ गते हृदयाघातका कारण निधन भएका नेम्वाङको अन्त्येष्टि हुने दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २८ भाद्र २०८०, बिहिबार  १ : ३४ बजे