काठमाडौँ । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल नेतृत्वको उच्चस्तरीय टोलीको मित्रराष्ट्र चीनको भ्रमणबाट दुई पार्टी र दुई देशबीचको सम्बन्ध थप सृदृढ हुन सघाएको ठानिएको छ ।
पार्टीका उपाध्यक्ष एवं संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको यही भदौ २६ गते असामयिक निधनका कारण भ्रमण टोलीका नेता पोखरेल र चार सदस्य यही भदौ २७ गते स्वदेश फर्किएका थिए भने अन्य सदस्यहरू यही भदौ २९ गते स्वदेश फर्किएका थिए ।
चीनले पर्यावरणीय हिसाबले विश्वको नमूना सहरको रूपमा विकास गरिरहेको छिङ्हाइ प्रान्तको राजधानी सिनिङमा चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको ‘चिनियाँ आधुनिकीकरणः मानवता र प्रकृतिबीचको सद्भाव’ विषयक अन्तर्राष्ट्रिय सेमिनारमा महासचिव पोखरेललाई प्रमुख वक्ता बनाइएको थियो । तीस देशका प्रतिनिधि सहभागी उक्त कार्यक्रममा चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियनचाओलगायतका नेताहरू उपस्थित थिए ।
भ्रमणका अवसरमा चीनका मुख्य सहरबाट नेपालका नयाँ दुई अन्तर्राष्ट्रिय विमानस्थल लुम्बिनी अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सिधा हवाई उडानका लागि चीन सरकार र चिनियाँ कम्युनिष्ट पार्टीको साथ, पहल र समन्वयको पहल हुने आशा गरिएको एमालेको विदेश विभाग प्रमुख डा राजन भट्टराईले बताए । उनले त्यस अर्थमा भ्रमण उपलब्धिमूलक रहेको जनाए ।
उनका अनुसार चीनले एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला चीन भ्रमणका क्रममा भएका सम्झौता र सहमतिहरू तथा यसैगरी चिनियाँ राष्ट्रपति सी जिनपिङको दुईदिने राजकीय भ्रमणको क्रममा भएका सहमति र सम्झौताहरू छिटो कार्यान्वयन होस् चाहना नेपाली प्रमण्डलसँग व्यक्त गरेको छ ।
नेपाली टोलीले नेपाल एक चीन नीतिमा दृढ रहेको र नेपालको भूमिबाट हुने सबै खालका चीन विरोधी गतिविधिलाई अस्वीकार गर्दै असंग्लन परराष्ट्र नीति र पश्चशीलको सिद्धान्तमा दृढ रहेको स्पष्ट गरेको थियो ।
भ्रमण टोलीमा एमाले महासचिव पोखरेल, स्थायी कमिटी सदस्य, परराष्ट्र मामिला विभाग प्रमुख डा। राजन भट्टराई, स्थायी कमिटी सदस्य, प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्रप्रसाद गौतम र पोलिटब्युरो सदस्य ज्वालाकुमारी साह, केन्द्रीय सदस्य रामबहादुर मगर, केन्द्रीय सदस्य तथा अध्यक्ष तथा अखिल नेपाल महिला संघ टुकाभद्र हमाल तथा केन्द्रीय सदस्यहरू सहदेव बोगटी, निरजप्रसाद आचार्य, मञ्जुदेवी गुरुङ, अजयकुमार गुप्ता, रचना खड्का, भगवती थापा क्षेत्री, मानवीर राई र कपिलदेव पोखरेल, जिफन्ट महासचिव लक्ष्मणकुमार शर्मा, अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष पिताम्बर भूषाल, राष्ट्रिय युवा संघ नेपाल अध्यक्ष क्षितिज थेवे, अनेरास्ववियु अध्यक्ष समिककुमार बडाल, परराष्ट्र मामिला विभाग सदस्य गोपाल खनाल, प्रदेश कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाकी उपमेयर हुमाकुमारी डीसी सदस्य थिए ।
यस्तै सचिवालयका रूपमा राजेश राई र सरोजकुमार रेग्मी पनि भ्रमण दलका सदस्य थिए ।
प्रतिक्रिया