इजरायल आक्रमणमा १० नेपाली मारिएको पुष्टि



काठमाडौं । इजरायलमा १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि भएको छ । तेल अभिभस्थित इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालले हमासको आक्रमणमा परी १० जना नेपालीहरुको मृत्यु भएको पुष्टि गरेकी हुन् ।

इजरायलमा पढ्न गएका उनीहरु सुतिरहेको स्थानमा बम खसेपछि घटना भएको त्यहाँ रहेका नेपालीहरुले जनाएका छन् । मृत्यु हुनेमा विद्यार्थीहरू रहेका छन् । यद्यपि यसबारेमा परराष्ट्र मन्त्रालयले जानकारी दिएको छैन ।

मृत्यु हुनेमा कैलाली घोडाघोडी ४ का नारायण प्रसाद न्यौपाने, बझाङ जय पृथ्वी ६ का गणेश कुमार नेपाली, कैलाली बाउनिया ३ का आशिष चौधरी, दार्चुला लेकम ५ का दिपेश राज विष्ट, धनुषा सपही ६ का आनन्द शाह, सुनसरी मधुवनका राजेश कुमार सर्वांकर, डोटी पचनाली ३ का राजन फुलरा, लामिखाल ८ का पदम थापा, सल्यान शारदा ३ का प्रवेश भण्डारी र दार्चुलाका लोकेन्द्र सिंह धामी रहेका दूतावासले जनाएको छ ।

सारदा–२ सल्यानका विधान सेजुवाल, दगिशरण–३ दाङका प्रविण डाँगी घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । दुबैको खट्टामा गम्भीर चोट लागेको छ ।

गोरखा–८ गोरखाका हिमाञ्चल कट्टेलको पनि स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने टीकापुर–९ कैलालीका धनबहादुर चौधरी उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका छन् । त्रिवेणी–१ सल्यानका प्रमोद केसी फार्म हाउस मामिकको घरमा सुरक्षित छन् भने भजनी त्रिशक्ति–४ कैलालीका वीरेन्द्र चौधरी इजरायलको सुरक्षा पोष्टमा सुरक्षित अवस्थामा छन् ।

राजदूत रिजालले भनिन्, ‘मृतक १० जनाको शव नेपाल पठाउन व्यवस्थापन मिलाइरहेका छौं । बाँकी घाइते र बंकरमा सुरक्षितहरुलाई पनि चाँडोभन्दा चाँडो उद्दार गर्न प्रयासरत छौं ।’

आइतबार विहान मात्र परराष्ट्रमन्त्री एनपी साउदले संसदलाई दिएको जानकारीअनुसार इजरायलमा ४ हजार ५०० नेपाली केयर गिभरका रूपमा कार्यरत छन् । २६५ जना विद्यार्थी इजरायल सरकारको ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गएका थिए । जसमा कृषि विश्वविद्यालयबाट ११९, त्रिभुवन विश्वविद्यालयबाट ९७ र सुदूरपश्चिम विश्वविद्यालयबाट ४९ जना गएका थिए ।

उनीहरुमध्ये १७ जना गाजा क्षेत्र नजिक दक्षिणी इजरायलको किबुज अलुमिम भन्ने क्षेत्रमा भएको आक्रमण्ममा परेको भन्दै परराष्ट्र मन्त्री साउदले भनेका थिए, ‘१२ जनामध्ये केही सम्पर्कमा नरहेको र केही हताहत भएको हुनसक्ने हुँदा स्थिति यकिन गर्न सम्पूर्ण संयन्त्र परिचालन गरिएको छ ।’

आइबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा बसेको बैठकले परराष्ट्रमन्त्री साउदको संयोजकत्वमा समन्वय संयन्त्र गठन भएको छ । समन्वय संयन्त्रले नेपालीहरूको अवस्था पहिचान गर्ने र उद्दारसम्बन्धी निर्णय गर्ने लगायतका सम्पूर्ण कायहरु गर्नेछ ।

‘संयन्त्रले घटनाको निरन्तर अनुगमन, वस्तु स्थितिको समग्र मूल्यांकन गरेर नेपालीहरूको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा आवश्यक निर्णय लिने, समन्वय तथा सहयोगका सम्पूर्ण कार्यहरू गर्नेछ’, प्रधानमन्त्रीको अध्यक्षतामा बसेको बैठकको निर्णमा उल्लेख गरिएको छ ।

संयन्त्र गठन भएलगत्तै परराष्ट्रमन्त्री साउदले नेपालस्थित इजरायली राजदूतसँग भेट गरेका छन् भने इजरायली सरकारका अधिकारीसँग टेलिफोन संवाद गरेका छन् ।

प्रकाशित मिति : २१ आश्विन २०८०, आइतबार  ९ : २३ बजे