भारतीय काङ्ग्रेसको भारत जोडो न्याय यात्रा शुरू, ६६ दिनमा छ हजार ७०० किलोमिटर



नयाँदिल्ली, १ माघ (रासस/सिन्ह्वा) – भारतको प्रमुख प्रतिपक्षी दल भारतीय काङ्ग्रेसले सन् २०२४ को आम निर्वाचनको पूर्वसन्ध्यामा आयोजना गरेको ‘राष्ट्रव्यापी पदयात्रा’ सोमबार इम्फाल वेस्टबाट शुरू गरिएको छ ।

काङ्ग्रेसको दोस्रो चरणको ‘राष्ट्रव्यापी पदयात्रा’ को दोस्रो दिन हो । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा पार्टीका वरिष्ठ नेता राहुल गान्धीले ‘भारत जोडो न्याय यात्रा’ अर्थात् ‘भारत एकता न्याय मार्च’ को आइतबार उद्घाटन गर्नुभएको थियो । गत बर्ष मणिपुरमा भएका जातीय हिंसाका कारण १८० भन्दा बढीको ज्यान गएको थियो र हजारौं घरबारविहीन भएका थिए ।

गान्धीले राज्यको थौबल जिल्लाबाट पदयात्रालाई उद्घाटन गर्नुभएको हो । उहाँले मणिपुरमा शान्ति र सद्भाव ल्याउने प्रतिज्ञा गर्दै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई मणिपुरको भ्रमण नगरेको भन्दै कटाक्ष गर्नुभयो । उहाँले भन्नुभयो, “लाखौं मानिसले क्षति बेहोर्नुप¥यो, तर प्रधानमन्त्री यहाँ आँसु पुछ्न, हात समात्न वा अँगालो हाल्न आउनुभएको छैन ।” “तपाईंको पीडा उनीहरूको पीडा होइन,’ गान्धीले प्रधानमन्त्री र उहाँको दलका नेतातर्फ सङ्केत गर्दै भन्नुभयो । उहाँले भन्नुभयो, “मणिपुरका जनताले भोगेको पीडा हामीले बुझेका छौं । हामी चोट, दुःख बुझ्छौं । हामी जसको लागि यो राज्य परिचित थियो उनीहरूबीच सद्भाव, शान्ति र स्नेह फिर्ता ल्याउनेछौं ।”

पदयात्राको लक्ष्य ६६ दिनमा छ हजार ७०० किलोमिटरभन्दा बढी दूरी पार गर्नु रहेको छ । मार्च २० मा भारतको आर्थिक राजधानी मुम्बईमा यसको समापन हुनेछ । सन् २०२२ को सेप्टेम्बरमा गान्धीले करिब १५० दिनमा चार हजार किलोमिटरको दूरी पार गरेर यस्तै अभियान चलाउनुभएको थियो । जनवरी २०२३ मा समाप्त भएको पहिलो पदयात्राले काङ्ग्रेसजनबीच सकारात्मक प्रतिक्रिया पाएको थियो । पदयात्राले देशभरिका दलका हजारौँ नेता, कार्यकर्ता तथा शुभेच्छुकलाई काङ्ग्रेसको भूमिकाप्रति आशावादी बनाएको थियो ।

प्रकाशित मिति : १ माघ २०८०, सोमबार  ४ : ०४ बजे