केपी ओली कप: विजेताले ११ लाख रुपैयाँ पाउने



काठमाडौँ, माघ ३ । दोस्रो संस्करणको केपी ओली कप फुटबल प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पाउने भएका छन्।

नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालले बुधबार काठमाडौँको एक होटेलमा पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। गत संस्करण मच्छिन्द्र फुटबल क्लबले फाइनलमा सातदोबाटो यूथ क्लबलाई पराजित गर्दै उपाधि जितेको थियो। यसपटकको प्रतियोगिता फागुन ११ गतेदेखि शुरू हुने आयोजकले जनाएको छ। प्रतियोगिता ए डिभिजन लिगका क्लब र विदेशी क्लबहरूको सहभागिता रहने छ।

फाइनलबाहेक प्रतियोगिताका सम्पूर्ण खेल एन्फा टेक्निकल सेन्टर च्यासलमा हुनेछन्। फाइनल खेल भने फागुन १९ गते त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ पाउने छन्। यस्तै, उपविजेताले ५ लाख रुपैयाँ पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले नगद १ लाख, उत्कृष्ट गोलरक्षक, उदीयमान खेलाडी र सर्वाधिक गोलकर्ता समान ५० हजार पाउनेछन्।

प्रतियोगिताको हरेक खेलमा विजयी हुने टोलीले २५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ। हरेक खेलको म्यान अफ दी म्याचले नगद १५ हजार पाउने छन्।

प्रकाशित मिति : ३ माघ २०८०, बुधबार  ५ : ५८ बजे