फिफा विश्वकप २०२६ को उपाधिका लागि आज राति नेपाली समयअनुसार १२:४५ बजे अमेरिकाको न्युयोर्क–न्यु जर्सी स्टेडियममा डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना र युरोपियन च्याम्पियन स्पेन आमनेसामने हुँदैछन् । ४८ टोली, १०४ खेल र करिब एक महिनाको रोमाञ्चक प्रतिस्पर्धापछि विश्व फुटबलले नयाँ च्याम्पियन पाउन लागेको हो ।
यो फाइनल केवल दुई टोलीबीचको उपाधि भिडन्त मात्र होइन, लियोनल मेसीको अनुभव र लामिन यमालको युवा जोश, लगातार दोस्रो विश्वकप जित्ने अर्जेन्टिनाको सपना र १६ वर्षपछि विश्व फुटबलको शिखरमा फर्किने स्पेनको महत्वाकांक्षाबीचको निर्णायक संघर्ष पनि हो ।
तीनपटकको विश्व विजेता अर्जेन्टिनाले फिफा विश्वकप २०२६ मा समूह चरणदेखि हासिल गरेको नतिजा हेर्दा समान शैली छ । त्यो हो–अन्तिम समयमा गोल गर्दै जित्ने ।
अन्तिम–३२ मा केप भर्डेविरुद्धको जित होस् या अन्तिम १६ मा इजिप्टविरुद्ध, क्वार्टरफाइनलमा स्विट्जरल्यान्डमाथिको जित या सेमिफाइनलमा एकपटकको विजेता इंग्ल्यान्डलाई पराजित गर्दा । अर्जेन्टिनाको विजयी यात्राको कडी अन्तिम १५ मिनेटकै सेरोफेरोमा घुमिरहेको छ ।
जारी २३औँ संस्करणको फाइनलमा उपाधिको निम्ति टोलीले एकपटकको विजेता स्पेनसँग खेल्दै छ । त्यसैले समर्थकहरूको अपेक्षा पनि निःसन्देह ‘कमब्याक’ गर्नेमै छ ।
तर, स्पेनविरुद्ध उक्त जुक्ती कत्तिको चल्नेछ भन्ने प्रश्न भने अझै छ । किनभने जसरी अघिल्ला खेलहरूमा डिफेन्सिभ लाइन तोड्दै काउन्टर अट्याकको पासो थापेर संघर्षपूर्ण जित निकाल्यो, बलियो र संगठित स्पेनविरुद्ध त्यही शैली सफल हुन्छ भन्न सकिन्न ।
तीनपटक विश्वकप जितेको अर्जेन्टिनाले अहिलेसम्म ६ पटक फाइनल खेलेको छ । यो सातौँ फाइनल हुनेछ ।
अघिल्ला ६ संस्करण हेर्ने हो भने टोली तीन फाइनल खेलमा विजयी भएको छ भने तीन खेलमा पराजित भएको छ । अर्जेन्टिनाले सफलता पाएका तीनमध्ये दुई संस्करणमा यस संस्करणझैँ अन्तिम समयमा गोल गरेर ट्रफी उचाल्न सफल भएको छ ।

अर्जेन्टिनाले सन् १९७८ मा पहिलोपटक उपाधि घर ल्याउँदा नेदरल्यान्ड्सविरुद्ध ३–१ को जित हासिल गर्यो । जितमा मारियो केम्पाजले ३८औँ र १०५औँ मिनेटमा गोल गर्दा डानियल बेर्टोनीले ११५औँ मिनेटमा एक गोल गरेका थिए ।
यसपछि टोलीले सन् १९८६ मा जर्मनी (तत्कालीन पश्चिम जर्मनी) लाई ३–२ ले हराउँदै दोस्रोपटक विजेता सूचीमा आफ्नो नाम लेखाउँदा पनि अन्तिम ६ मिनेटमा निर्णायक गोल गर्यो । गोल भने जर्ज बुरुचागाले गरेका थिए । जमर्नीले ८१औँ मिनेटमा बराबरी गर्दा बुरुचागाले ८४औँ मिनेटमा गोल गर्दै टोलीको उपाधि सुनिश्चित गरेका थिए ।
अर्जेन्टिनीले फाइनल गुमाएका तीनमध्ये दुई खेलमा पनि अन्तिम समयमा गोल व्यहोरेको छ । त्यो पनि दुवै जर्मनीसँगै । सन् १९९० मा वेस्ट जमर्नीसँग हार्दा ८५औँ मिनेटमा गोल खाएको थियो ।
यसको २४ वर्षपछि, यी दुईले सन् २०१४ को विश्वकपमा फेरि उपाधिका लागि खेले । यस खेलमा पनि जमर्नीले ११३औँ मिनेटमा गोल गरेपछि अर्जेन्टिना तेस्रोपटक उपविजेतामा सीमित भएको थियो ।

चार वर्षअघि कतारमा सम्पन्न फिफा विश्वकप २०२२ मा टोलीले तेस्रोपटक उपाधि जित्दा पनि खेलको दुई मिनेट बाँकी छँदा अग्रता गुमाएको थियो । तर, पछि टाईब्रेकरमा गोलकिपर इमिलियानो मार्टिनेज नायक बन्दा ट्रफी चुम्न सफल भएको थियो ।
यो विश्वकपमा स्पेनले समूह चरणमा केप भर्डेसँग गोलरहित बराबरी खेलेपछि साउदी अरेबियालाई ४–० र उरुग्वेलाई १–० ले हराउँदै समूह विजेता बन्यो ।
त्यसपछि अस्ट्रियालाई ३–०, पोर्चुगल र बेल्जियमलाई समान संघर्षपूर्ण खेलमा पराजित गर्दै सेमिफाइनल पुगेको स्पेनले उपाधिका दाबेदार फ्रान्सलाई उत्कृष्ट प्रदर्शनसहित हराएर फाइनलमा स्थान बनाएको हो ।
यो फाइनललाई धेरैले लियोनल मेसी र लामिन यमालबीचको पुस्तान्तरणको प्रतीकात्मक खेलका रूपमा पनि हेरेका छन् । ३९ वर्षीय मेसी आफ्नो महान् करियरमा अर्को विश्वकप थप्ने लक्ष्यमा छन् भने १८ वर्षीय यमाल विश्व फुटबलको नयाँ युगको नेतृत्व गर्ने अवसरको खोजीमा छन् ।
अब सबैको नजर आज रातिको ९० मिनेट—वा आवश्यक परे अतिरिक्त समय र पेनाल्टी—मा हुनेछ । प्रश्न एउटै छ, अर्जेन्टिनाको अन्तिम समयको जादु फेरि दोहोरिनेछ कि स्पेनले त्यसलाई रोक्दै १६ वर्षपछि विश्व फुटबलको सिंहासन पुनः कब्जा गर्नेछ?





प्रतिक्रिया