मधेसी नेताको गद्दारीले समृद्ध मधेश आज उजाड भयो : प्रभु साह



काठमाडौँ, ८ माघ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसी नेताहरुको गदारीले मधेस आज उजाड भएको बताएका छन् ।

आजपा सप्तरी जिल्ला कमिटीले आज राजविराजमा आयोजना गरेको बैंकिंग तथा वित्तीय संस्थाको ठगी तथा लुटको विरुद्ध अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष साहले बाहिर पहाडिया जनता प्रति घृणा देखाउने र भित्र पहाडÞिया नेताको चाकड़ी गर्ने मधेसी नेताहरुको गदारीका कारण मधेस उजाड बन्दै गएको टिप्पणी गरेका हुन्।

मधेसी दलका केही स्वार्थी नेताहरुले व्यक्तिगत लाभका लागि सामाजिक सम्बन्धलाई अस्वस्थ बनाएको बताउँदै उनले पहाडी शासकहरुसंग मिलेर मधेसको उधोग व्यापारको आधार र स्रोतलाई समेत ध्वस्त बनाएको बताए।

मधेस सरकारले जंगलराजको अभ्यास गरिरहेको आरोप लगाउँदै साहले सेवा दिने संस्थाहरु शिक्षा र स्वास्थ्य समेतलाई व्यापार बनाएको बताए। मधेसको पुर्वाधार एवं सम्पदाहलाई दोहन गर्ने काम भईरहेको उनले बताए। अध्यक्ष साहले मधेश सरकार भ्रष्टाचारमा डुबेको बताउँदै विकास आयोजनादेखि हरेक काम कारबाहीमा मधेस सरकार भ्रष्टाचारको हिस्सा बनिरहेको आरोप लगाए।

उनले बजेटको दुरुपयोग भइरहेकोप्रति सरकारका साथै मधेसमा सक्रिय दलहरुसमेत मौन बस्नुले गम्भीर प्रश्न उत्पन्न भएको बताए। साहले कन्सल्टेंटको नाम राखेर बजेट बनाउने काम भइरहेको भन्दै कतिपय स्थानमा बजेट पठाउँदा व्यक्तिको नाम तोकेर बजेट पठाउने गरेको भन्दै आपत्ति जनाए।

ब्यक्तिगत लाभको लागि कर्मचारीलाई कूटने, डराउने र निरीह बनाउने कार्य समेत मधेस सरकारले गरिरहेको भन्दै स्वार्थ केन्द्रित कानून नियम बनाउने कामको उनले विरोध समेत गरे। उनले कमिशन लिएर अनुदान दिने, बजेटको खुलेआम बिक्री वितरण गर्ने र नस्ल र जातको आधारमा पक्षपात गर्ने काम भइरहेको भन्दै आलोचना गरे।

अध्यक्ष साहले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै बैंकहरुको लुटधन्दा विरुद्धको आन्दोलन कडा हुने बताए। बैंकहरुले लिने मनोमानी व्याज फिर्ता गर्नुपर्ने बताउँदै सर्वसधारणलाई ठग्ने ठगहरुलाई नछोड्ने चेतावनी दिए।

बैंकहरुले मनोमानी लिइरहेको व्याज फिर्ता गर्नुपर्ने, लघुवित तथा सहकारीबाट लिएको कर्जा फिर्ता हुनुपर्ने र सर्वसधारण नागरिकले सहजरुपमा कर्जा नपाएसम्म आन्दोलनका बिभिन्न कार्यक्रम जारी रहने चेतावनी साहले दिए।

आजपा मधेस प्रदेश कमिटी र बैंक तथा वितिय पीडित संघर्ष समितिले ११ माघमा मधेस बन्दको गर्ने घोषणा गरेको छ। ‘बैंकले लिइरहेको मनोमानी ब्याज फिर्ता गर्नुपर्ने, लघुबित्त तथा सहकारीबाट लिएको कर्जा माफी गर्नुपर्ने, आम जनतालाई सहज कर्जा उपलब्ध गराउनु पर्ने’ लगायतका माग गर्दै आजपाले ११ माघमा मधेश बन्द गर्ने घोषणा गरेको हो।

कार्यक्रमको अध्यक्षता सुनिलराज दास र सञ्चालन आईटी आर्मीका उपाध्यक्ष दिलिप साहले गरेको आजपा प्रवक्ता चन्द्रभुषण साहले बताए।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : १० बजे