सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस मंगलबारदेखि



काठमाडौँ, ८ माघ । ललितपुर टेबलटेनिस क्लबको आयोजना तथा कन्सेप्ट मेकर्जको व्यवस्थापनमा छैटौं सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिता माघ १६ गतेदेखि हुने भएको छ।

प्रतियोगितामा ३ सय ९० खेलाडीको सहभागिता रहने सोमबार आयोजित पत्रकार सम्मेलनमा आयोजक क्लबका अध्यक्ष उर्दीप जोशीले जानकारी गराए।

भारतबाट १६ पुरुष र ८ महिला तथा चीनबाट २ महिला खेलाडी सहभागी हुने छन्। बाँकी नेपाली खेलाडी रहेका छन्।

प्रतियोगितामा पुरुष÷महिला सिंगल्स र टिम, पुरुष सिंगल्स भेट्रान ४० वर्षमाथि र ५५ वर्षमाथि, महिला सिंगल्स भेट्रान ४० वर्षमाथि तथा यु–१६ ब्वाइज÷गल्र्स सिंगल्स गरी ९ स्पर्धामा प्रतिस्पर्धा हुनेछ। पुरुष÷महिला सिंगल्स र टिममा शीर्ष तीन स्थान हात पार्ने क्रमशः ५० हजार, २५ हजार र १०÷१० हजार नगद पुरस्कार पाउने छन्। बाँकी स्पर्धामा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५÷५ हजार नगद पुरस्कार जित्ने छन्। कुल नगद पुरस्कार राशी ५ लाख ८० हजार रुपैयाँ रहेको छ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा पाँच दिनसम्म चल्ने प्रतियोगिता सञ्चालन गर्न करिब २३ लाख ३५ हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।

पत्रकार सम्मेलनमा आयोजक क्लब, मुख्य प्रायोजक सम्झना ल्याबोरेटरी क्लिनिक प्रा.लि. र हस्पिटालिटी पार्टनर नेपाली घर होटल प्रा.लि. बीच त्रिपक्षीय सम्झौता पनि भएको छ। आयोजकका अध्यक्ष जोशी, सम्झनाकी निर्देशक रजना जोशी र नेपाली घरका जनरल म्यानेजर राजीव श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे।

सम्झौता अनुसार सम्झनाले कुल खर्चको ५० प्रतिशत तथा नेपाली घरले ५ लाख २ हजार रुपैयाँ बराबरको सहयोग गर्ने बताइएको छ। त्यस्तै इक्विपमेन्ट पार्टनर भारतको स्ट्याग ग्लोबल प्रा.लि. तथा पोशाक पार्टनरमा भ्याली स्पोर्ट्स हाउस, भक्तपुर रहेका छन्। ललितपुर जिल्ला टेबलटेनिस संघले पनि सहयोग गर्ने जनाइएको छ।

प्रकाशित मिति : ८ माघ २०८०, सोमबार  ८ : २७ बजे