नेपालमा दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप हुने



काठमाडौं, माघ १४ । नेपालमा तेस्रो पटक दक्षिण एसियाली सेपाकताक्रो च्याम्पियनसिप हुने भएको छ । नेपाल सेपाकताक्रो संघको आयोजनामा यहि माघ १७ देखि १९ गतेसम्म राखेपको कवर्डहलमा प्रतियोगिताको पाँचौं संस्करण हुन लागेको हो।

नेपालले यसअघि  सन् २०१३  र २०१८ मा यो प्रतियोगिता आयोजना भएको थियो। 

प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र पाकिस्तानको सहभागिता रहनेछ। जसमा पुरुष को ३ र महिलाको २ गरी पाँच इभेन्ट्समा प्रतिस्पर्धा हुनेछ। त्यसका लागि महिला र पुरुष गरी ९० खेलाडीहरुले भाग लिनेछन्। त्यसबाहेक रेफ्री, प्रशिक्षक सहित अन्य अधिकारीहरु गरी १५० जना प्रतिनिधि नेपाल आउनेछन्।   

नेपाल सेपाकताक्रो संघका अध्यक्ष नेत्रप्रसाद गुरुङले २ महिना अगाडिदेखि नै २५ जना नेपाली खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखेर तयारी गराइरहेको बताए। उनले भने- ” भारत प्रमुख दावेदार हो। तर यसपाली हामीले राम्रो तयारी गर्दै स्वर्ण जित्ने लक्ष्य राखेका छौं। “

आयोजकको निमन्त्रणामा अन्तर्राष्ट्रिय सेपक ताक्रो संघका कार्यवाहक अध्यक्ष  बुन्चाई लोर्पिपात र अर्न्तराष्ट्रिय सेपाकताक्रो संघका महासचिव दातो अबदुलहालिम विन कादेर यो प्रतियोगिता अवलोकनका लागि आउने पत्रकार सम्मेलनमा जानकारी गराइयो।

प्रतियोगिताको अनुमानित लागत खर्च ३६ लाख ६५ हजार रुपैयाँ छ । जसमा राखेपले २० लाख रुपैयाँ राखेप संग माग गरेको अध्यक्ष गुरुङले बताए। बाँकी १६ लाख ६५ हजार रुपैयाँ संघ र आर्थिक सहयोग संकलन गरिने जनाइएको छ।

१ लाखको अक्षयकोष

पत्रकार सम्मेलनमा नेपाल सेपाकताक्रो संघका संरक्षक ध्रुबबहादुर गुरुङले आफ्नो ७५ वर्षको जन्मदिनको अवसरमा संघको ट्रस्टमा एक लाख रुपौयाँ जम्मा गर्ने घोषणा गरेका छन्। सो रकमको १५ प्रतिशत खेलाडीहरुलाई पुरस्कृत गर्नकोलागि उपयोग गर्न उनले संघलाई सुझाएका छन्।

प्रकाशित मिति : १४ माघ २०८०, आइतबार  ८ : १२ बजे