आहा रारा गोल्डकप: चर्च ब्वाइज सेमिफाइनलमा



चर्च ब्वाइज युनाइटेड क्लब पोखरामा जारी २३औँ संस्करणको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ।

पोखरा रङ्गशालामा आज भएको क्वाटरफाइनलको अन्तिम खेलमा विभागीय टोली नेपाल पुलिस क्लबलाई १–० गोलअन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान बनाएको हो। 

चर्च ब्वाइजका लागि खेलको ७३औँ मिनेटमा समिर तामाङले निर्णायक गोल गरेका थिए। खेलको म्यान अफ दी म्याच भएका उनले रु १० हजार पुरस्कार पाए। चर्च ब्वाइजले अब फाइनल प्रवेशका लागि नेपाली सेनाको त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ। 

पुलिस क्लब र चर्च ब्वाइज अघिल्लो संस्करणदेखी आहा रारामा सहभागी भएका हुन्। अघिल्लो पटक प्रिक्वाटर फाइनलमा यी दुवै टोली भिडेका थिए। त्यसबेला पनि चर्च ब्वाइजले २–१ गोलले खेल जितेको थियो। चर्च ब्वाइज अघिल्लो संस्करणमा सेमिफाइनलसम्म पुगेको थियो। पुलिस क्लबले भने क्याराभान गोल्डकपसहित हालसम्म पाँच पटक प्रतियोगिताको उपाधि जितेको छ।

प्रतियोगिताअन्तर्गत बुधबार पहिलो सेमिफाइनल खेल थ्रिस्टार क्लब र जावालखेल क्लबकाबीच हुनेछ। यही माघ ९ गतेदेखि सञ्चालन भएको प्रतियोगिताको फाइनल खेल माघ २० गते हुनेछ। च्याम्पियन टोलीले रु १२ लाख एक हजार तथा उपविजेताले रु छ लाख एक हजार नगदसहित ट्रफी प्राप्त गर्ने छ। 

प्रकाशित मिति : १६ माघ २०८०, मंगलबार  ७ : ५५ बजे