सरकारी जग्गाको संरक्षण एवं बाझो जग्गाको उपयोगका कार्यक्रम लागू गर्न मन्त्री भुसालको निर्देशन



काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री डा.बेदुराम भुसालले कुनै पनि सरकारी जग्गा बाँझो नराखी त्यसको संरक्षण एवं सुरक्षा गर्दै त्यसमा उपयुक्त बाली लगाउनुपर्ने निर्देशन दिएका छन् ।

ललितपुरको खुमलटारमा आज नेपाल कृषि अनुसन्धान परिषद (नार्क) को आ.ब २०८०÷८१ को केन्द्रीय स्तरको दोस्रो त्रैमासिक तथा अर्ध–बार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भुसालले यस्तो निर्देशन दिएका हुन् ।

‘सरकारी जग्गाहरु बाँझो राख्ने र खाद्यान्न आयात गरेर केही काम छैन । देशैभरीका खाली जग्गाको उपयोग हुनुपर्छ । जग्गाहरु बाँझो राख्नुभएन्, जहाँ जग्गा खाली छ त्यहाँ जुनबाली उपयुक्त हुन्छ त्यो बाली लगाउँनुपर्छ । यसले उत्पादन मात्रै बढाउँदैन जग्गाको संरक्षण र सुरक्षा पनि हुन्छ’ मन्त्री भुसालले भने ।

मञ्त्री भुसालले कृषकको हितमा हुने गरी नार्कको अनुसन्धान अझै प्रभावकारी हुनुपर्नेमा जोड दिदै उनले अनुसन्धानमा सरकारले थप बजेट छुटयाउँने बताए । यो बर्षमा के कति काम भएको छ सोही आधारमा अर्को बर्ष बजेट थप्ने काम सरकारले गर्ने मन्त्री भुसालले बताए ।

अधिकांश खाद्यबालीहरु आयात गर्नुपर्ने भएकाले कुन बालीमा आत्मनिर्भर हुने गरी अनुसन्धान भइरहेको छ सोही आधारमा बजेट पनि थप्न सरकार तयार रहेको उनले बताए । बिभिन्न बालीको उत्पादन बढाउँन थप अनुसन्धान आवश्यक रहेको बताउँदै मन्त्री भुसालले विशेष अनुसन्धानका कार्यक्रममा बजेट थप्ने बताए ।

नार्कका कार्यकारी निर्देशक डा.ध्रुवराज भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कृषि मन्त्रालयका सचिव रेवतीरमण पौडेल, सहसचिव डा.राजेन्द्र मिश्र, पशु सेवा विभागका महानिर्देशक डा.उमेश दाहाल, पशु तथा मत्स्य अनुसन्धान निर्देशक डा.दोजराज खनाल, योजना तथा समन्वय निर्देशक डा.लुमानिधि पाण्डे, आर्थिक प्रशासन निर्देशक मनसकुमार कँडेल, बिभिन्न केन्द्रका प्रमुख र कार्यक्रम संयोजकहरु, योजना अधिकृत तथा अन्य कर्मचारीको सहभागिता रहेको थियो ।

राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डा. कालिकाप्रसाद उपाध्यायका अनुसार कार्यक्रममा डा.सुधा सापकोटाले प्रगति प्रतिवेदन पेश गर्नुका साथै कार्यक्रमको सञ्चालन जीवन लामिछानेले गरेका थिए ।

प्रकाशित मिति : २१ माघ २०८०, आइतबार  ५ : ३३ बजे