क्विनझाई टिमविरुद्ध नेपाली युवा टिमको सहज जित



काठमाडौँ, माघ २७ । चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा आयोजित मैत्रीपूर्ण फुटबलमा नेपाली यू–२३ टिमले चीनको क्विनझाई युथ टिमविरुद्ध ५–१ को सहज जित निकालेको छ ।

शनिबार त्रिपुरेश्वरस्थित्र दशरथ रंगशालामा सम्पन्न खेलमा नेपाललाई जित दिलाउन समिर तामाङले दुई गोल गरे । यस्तै, छिरिङ लामा, सञ्जिव बिष्ट र निराजन धामीले समान एक गोल थपे । चिनियाँ टिमका लागि जासी पेंगकोउले सान्त्वना गोल फर्काएका थिए ।

खेलमा सञ्जिव बिष्टले दोस्रो मिनेटमा नै गोल गर्दै नेपाललाई अग्रतामा राखेका थिए । ३९औँ मिनेटमा समिरले गोल गरेपछि नेपालले पहिलो हाफमा २–० को अग्रता बनाएको थियो । ५४औँ मिनेटमा समिरले नै नेपालको अग्रतालाई ३–० मा पूर्याए । त्यसको नौ मिनेटपछि छिरिङ लामाको गोलमा नेपालले अग्रतालाई ४–० मा पूर्याएको थियो । यस्तै, ७५औँ मिनेटमा निराजन धामीले गोल गर्दै नेपाललाई ५–० को सहज अवस्थामा पूर्याए ।

पाहुना टिमका पेंगकोउले खेलको ७८औँ मिनेटमा एक गोल फर्काए पनि टिमको निराशजनक नतिजा बदल्न सकेनन् ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) र नेपालस्थित चिनियाँ राजदुतावासको संयुक्त आयोजनामा यो मैत्रीपूर्ण फुटबल भएको हो ।

प्रकाशित मिति : २७ माघ २०८०, शनिबार  ८ : ११ बजे