ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरी थप्यो



फागुन २ काठमाडौँ । ललितपुर महानगरपालिकाले ५० जना नगर प्रहरीहरू थपेको छ।

गत पौष २४ गतेबाट ललितपुर महानगरपालिकाले नगर प्रहरी आधारभूत तालिम सञ्चालन गरी आज बुधबार समापन गरेको हो।

तालिम समापन कार्यक्रममा महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाको राम्रो काममा नगर प्रहरीको संलग्नता उच्च स्तरको रहेको बताए। ललितपुरको असल अभ्यासलाई अरु पालिकाहरूले समेत अनुसरण गर्ने गरेको उनको भनाई छ।

उनले भने, ‘हाम्रो ललितपुर महानगरपालिकाको असल अभ्यास धेरै वटा छन्। धेरै वटा पालिकाहरूले यसलाई अनुसरण गरिएको छन्। त्यो मध्यमा सबै भन्दा सुस्त दुरुस्त र सबैले देखिने नगर पहरी नं १ मा आएको छ। अहिलेसम्म ललितपुर महानगरपालिकाले गरेको कामहरूमा नगर प्रहरीहरूको उच्च स्तरको छ, राम्रो छ।’

मेयर महर्जनले, ५० जना नगर प्रहरीहरू थपेर नगर प्रहरी बल अझ सशक्त हुने विश्वास व्यक्त गरे। उनले भने, ‘आज हामीले नगर प्रहरीहरू ५० जना थपेर हाम्रो नगर प्रहरी बल अझ सशक्त हुन गएको हामीले पायौँ। यो पनि ललितपुर महानगर बासिहरूको निमित्त उपहार हुनेछ भन्ने कुरामा दुईमत नरहला।’

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ३ : ०५ बजे