इलाम २ मा उपनिर्वाचनको चहलपहल



इलाम । निर्वाचन आयोग रिक्त रहेका २३ तहको उपनिर्वाचनको मिति तय गर्ने अन्तिम तयारीमा छ। मिति तय गर्नेबारे राजनीतिक दल र सरकारसँग आन्तरिक परामर्शमा छ। संभवत बैशाखको पहिलो वा दोस्रो हप्ताभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी छ। राष्ट्रिय सभा निर्वाचन समापनसँगै आयोग उपनिर्वाचनमा जुटेको हो।

उपनिर्वाचन हुने तहहरुमध्ये प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ धेरैको चासोको क्षेत्र बनेको छ। ठूला दलहरुले यस क्षेत्रलाई आफ्नो प्रतिष्ठा र अस्तित्वसँग जोडेर हेरिरहेका छन्। निर्वाचन क्षेत्रमा लोकप्रिय उम्मेदवारको खोजीमा दलहरु ‘आन्तरिक सर्भे’मा पनि जुटेका छन्। नेपाली कांग्रेस र नेकपा एमालेले मतदाताको मनोभावना बुझ्न केन्द्रीय तहबाटै नेताहरु परिचालन गरेर सर्भे गरिरहेको छ।

उम्मेदवारमा आकांक्षा राख्नेहरुको अवस्था र मतदाताको मनोविज्ञान बुझ्न केन्द्रीय नेताहरु सक्रिय छन्। कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले केही साताअघि इलामै पुगेर सर्वेक्षणका आधारमा लोकप्रिय उम्मेदवार चयन गर्ने र कांग्रेस उम्मेदवारलाई विजयी गराइछाड्ने प्रतिक्रिया दिएका थिए। एमाले पनि मतदाताको सहानुभूति र लोकप्रियताका आधारमा उम्मेदवार चयन गर्ने तयारीमा छ। राष्ट्रिय स्वतन्त्र पार्टी भने उपयुक्त उम्मेदवारको खोजीमा छ। उम्मेदवारको टिकट नपाएर असन्तुष्ट बनेका ठूला दलका नेता फकाएर आफ्नो उम्मेदवार बनाउने रास्वपाले रणनीति बनाएको छ।

सत्तारुढ गठबन्धनका तर्फबाट कांग्रेसकै नेता उम्मेदवार बन्ने लगभग निश्चित छ। यद्यपी, उपनिर्वाचनको मिति घोषणा नहुँदै दलहरुले इलाम २ का गाउँहरुमा गतिविधि बढाएका छन्। भेला, सभा र कार्यकर्ता भेटघाटका कार्यक्रमहरु भइरहेका छन्। उपनिर्वाचनको मिति तोकेपछि चुनावी अभियान गर्ने समय छोटो हुने भएपछि नेताहरुले सक्रियता बढाएका हुन्। उम्मेदवारका आकांक्षीहरु टिकट फुत्काउन काठमाडौं–इलाम बराबरी दौडधुप गरिरहेका छन्। प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङको गत २६ भदौमा निधन भएसँगै उक्त क्षेत्रको सांसद पद रिक्त बनेको हो।

प्रकाशित मिति : ६ फाल्गुन २०८०, आइतबार  २ : २७ बजे