आज प्रजातन्त्र दिवस, देशभर सार्वजनिक विदा



फागुन ७ काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र दिवस। देशभर विभिन्न कार्यक्रम गरी मनाइदैछ। गणतन्त्र स्थापनापछि केही समय ओझेलमा परेको यो दिवसलाई यसवर्ष सरकारले थप महत्वका साथ विभिन्न कार्यक्रम गरी मनाउने निणर्य गरेको छ।

दिवसका अवसरमा सरकारले देशभर सार्वजनिक विदा दिएको छ। दिवसको अवसरमा काठमाडौंको टुँडिखेलस्थित सैनिक मञ्चमा विशेष समारोह आयोजना गरिएको छ। समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुखसहितको सहभागिता रहनेछ। सो क्रममा सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अंकित व्यानर चक्रपथ वरपर प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम समेत छ।

वि.सं. २००७ सालमा जहानियाँ राणा शासन अन्त्य भई प्रजातन्त्र स्थापना भएको दिनको सम्झनामा हरेक वर्ष फागुन ७ गते राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने गरिन्छ। प्रजातन्त्र स्थापनाका लागि कांग्रेसको नेतृत्वमा सशस्त्र क्रान्ति नै भएको थियो। उक्त क्रान्तिलाई तत्कालीन राजा त्रिभुवनले साथ दिएपछि प्रजातन्त्र स्थापना सम्भव भएको थियो। तर, गणतन्त्र स्थापनापछि भने प्रजातन्त्र दिवस ओझेलमा परेको थियो।

सरकारले यही वर्षबाट प्रजातन्त्र दिवसलाई थप महत्वका साथ मनाउने निणर्य गरेको हो। संघमा प्रधानमन्त्रीको संयोजकत्वमा मुल समारोह समिति गठन भएको छ भने प्रदेशमा मुख्यमन्त्री, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुख र स्थानीय तहमा सम्बन्धित स्थानीय तहका प्रमुखहरूको संयोजकत्वमा दिवस विशेष कार्यक्रम आयोजक समिति गठन गरी दिवस मनाइदैछ। सरकारले घरघरमा दिपावली बाल्न र राष्ट्रिय झण्डा झुकाउन समेत आह्वान गरेको छ।

प्रकाशित मिति : ७ फाल्गुन २०८०, सोमबार  ७ : ५६ बजे