भिसी नियुक्तिमा प्रधानमन्त्रीले बाचा पुरा गरेनन् : कांग्रेस नेता पौडेल



काठमाडौं । नेपाली कांग्रेसका नेता एवम सांसद प्रदिप पौडेलले त्रिभुवन विश्वविद्यालयमा भिसी नियुक्तिको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गरेको बाचा पुरा नगरेको बताएका छन्।

खुला र पारदर्शी प्रतिस्पर्धाबाट भिसी नियुक्ति गर्ने भनेर गरिएको सार्वजनिक प्रतिबद्धतालाई कर्मकाण्डी मात्रै बनाइएको नेता पौडेलको भनाइ छ। नेता पौडेलले मंगलबार विहान सामाजिक संजालमार्फत भिसी नियुक्तिमा आपत्ति जनाएका हुन्।

‘भित्री नियतमा कुनै परिवर्तन देखिएन। नियुक्ति कसरी गरिएको हो ? त्यसको सम्पूर्ण प्रक्रियाका बारेमा आम नागरिकका सामु सार्वजनिक गरियोस्,’ उनले भने। उपकुलपति छनोट समितिले आइतबार तीन जनाको नाम सिफारिस गरेको थियो। समितिले पहिलो नम्बरमा चित्रबहादुर बुढाथोकी, दोस्रोमा केशरजंग बराल र तेस्रो नम्बरमा टंकनाथ धमलाको नाम सिफारिस गरेको हो।

शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईको संयोजकत्वमा रहेको समितिले तीन जनाको नाम प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाललाई सिफारिस गरेको हो।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ११ : ५३ बजे