आर्मीलाई हराउँदै एपीएफ फाइनलमा



फागुन ८ काठमाडौँ । मकवानपुरको बागमती गाउँपालिकामा जारी छैठौं संस्करणको बागमती गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ।

मंगलबार –८ स्थित जनता माविको खेल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई १–० गोलले हराउँदै एपीएफ फाइनलमा प्रवेश गरेको हो।

एपीएफको जितमा विदेशी खेलाडी फोडे फोफनाले निर्णायक गोल गरे। खेलको ३ मिनेटमा फोफनाले गरेको गोलले नै जीतको लागि पर्याप्त भयो।

खेलको म्यान अफ द म्याच एपिएफका बुद्धिमान राई घोषित भए। उनले १० हजार रुपैयाँ प्राप्त गरे। एपीएफले फाइनलमा मछिन्द्र फुटबल क्लबको भेट पक्का गरेको छ।

यसअघि सोमबार भएको पहिलो सेमिफाइनल खेलमा न्यरोड टिम (एनआरटी) लाई ५–१ गोलले हराउँदै मछिन्द्र फाइनलमा प्रवेश गरिसकेको छ।

बिहिबार एपीएफ र मछिन्द्रबीच उपाधीका लागि भिडन्त हुनेछ। प्रतियोगिताको विजेता टोलीले १० लाख रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेता टिमले ५ लाख रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै सर्वोत्कृष्ट खेलाडीले १ लाख १ हजार रुपैयाँ र अन्य विधागत उत्कृष्टले २५–२५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ७ : ०९ बजे