सरकारको काम एमालेको विरोध र चरित्रहत्या गर्नु हो : ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार राष्ट्रिय तथा र जनजीविकाका सवालमा एकदमै कमजोर भएको आरोप लगाएका छन्।

मंगलबार नेकपा एमालेको केन्द्रीय समिति बैठकमा बोल्दै अध्यक्ष ओलीले गठबन्धन सरकारको एकमात्र एजेण्डा एमालेको विरोध र चरित्रहत्या गर्नु भएको बताए। उनले भने, ‘अहिलेको गठबन्धनको उद्धेश्य नेकपा एमालेको विरोध हो, एमालेलाई अगाडी बढ्न नदिनु हो, एमालेलाई बदनाम गर्नु हो। एमालेको चरित्रहत्या गर्नु हो।’

वर्तमान सरकारको विकास र सुशासनको एजेण्डा नभएको ओलीको भनाइ छ। देशका लागिकाम गर्ने अब कुनै दल छैन भन्ने भाष्य निर्माण गर्न खोजिएको भन्दै अध्यक्ष ओलीले गठबन्धनको यही कारण विभिन्न शक्तिहरु सल्बलाएको उल्लेख गरे। उनले भने, ‘एमालेको झुटो लाञ्छना लगाएको छ। यो गठबन्धन ठूलो अपराध हो । गठबन्धनको असफलताका कारण विभिन्न शक्तिहरु सल्बलाउन थालेका छन्। कोही धर्मका नाममा कोही, कोही जातजातीका नाममा।’

राजनीतिक चेत नै नभएका मान्छेहरु लहडका भरमा राजनीतिमा आउनु दुखःद रहेको अध्यक्ष ओलीको आरोप छ। ओलीले आफू सरकारमा रहँदापनि संक्रमणकालीन न्याय टुंग्याउन पहल गर्दा पुष्पकमल दाहाल प्रचण्ड र शेरबहादुर देउवानले नै नमानेको दाबी गरे। उनले भने, ‘हाम्रा लागि आफ्नो केही छैन। संक्रमणकालीन न्यायसम्बन्धि विधेयकमा पीडित मञ्जुर भए हाम्रो पनि सहमति हुन्छ।’

प्रकाशित मिति : ८ फाल्गुन २०८०, मंगलबार  ९ : ५७ बजे