अर्थ व्यवस्था सिमित व्यक्तिको हातमा गयो : सांसद भण्डारी



काठमाडौं । नेपाली काङ्ग्रेसका सांसद चन्द्र भण्डारीले आर्थिक नीति सम्बन्धी गलत कार्यक्रमले गर्दा नेपालको अर्थ व्यवस्था सिमित व्यक्तिको हातमा गएको बताएका छन्।

विहीबार प्रतिनिधि सभाको बैठकमा उनले ११÷१२ जनाको हातमा बैंकदेखि उद्योग सबै रहेको भन्दै एउटा सरकारले चाहेर मात्रै विकास हुन नसक्ने बताए। उनले भने, ‘१०/१२ जनाको हातमा बैंक, उद्योग, बिमा, जलस्रोत, अस्पताल र जमिन खन्ने लाइसेन्स पनि छ। अब यो देश कसरी बन्छ, एउटा सरकारले चाहेर, गर्छु भनेर कसरी विकास हुनसक्छ ? हाम्रो आर्थिक नीतिको गलत कार्यक्रमले गर्दा सिमित व्यक्तिको हातमा अर्थ व्यवस्था गएको छ। सायद संसारमा यस्तो कतै भएको छैन्।’

उनले सदनबाट पास भएका विषयलाई अदालतले रोक लगाएको भन्दै संसद किन कमजोर भएको भन्दै प्रश्न गरे। उनले भने, ‘हामीले गरेका बजेटका कुरा, पास गरेका कुरा, अदालतबाट रोकिन्छन्। संसद किन कमजोर भयो ? हामीले धेरै राजनीति गर्यौं तर राष्ट्र नीति बनाउन सकेनौं। अब नेपालले यस बारेमा सोच्नु पर्छ।’ युवाहरु देशमा बस्ने वातावरण हाम्रो नीतिले नै नदिएको भन्दै यसमाा गम्भीर हुन आवश्यक भएको बताए।

प्रकाशित मिति : १० फाल्गुन २०८०, बिहिबार  १ : १९ बजे