कोशी र गण्डकीमा हल्का वर्षाको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाको अनुसार आज कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा मौसम आंशिक बदली रहने छ। यस्तै, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागमा पनि आंशिक बदली भई बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।

हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। अहिले कोशी प्रदेश लगायत देशको पहाडी भुभागमा आंशिक बदली रही बाँकी भुभागमा मौसम मुख्यतया सफा रहेको महाशाखाले उल्लेख गरेको छ।

शुक्रबार दिउँसो कोशी,गण्डकी,बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रहने छ। कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ। साथै, कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा र बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

आज राती कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

बिहीबार साँझ काठमाडौं सहित बागमती, कोशी,गण्डकी प्रदेशको केही स्थानमा हल्का देखि मध्यम वर्षा भएको छ। मौसमविदका अनुसार आजबाट मौसममा क्रमिक सुधार हुँदै जाने छ।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ४२ बजे