केपी ओली कप फुटबल सुरू, विजेतालाई ११ लाख नगद



फागुन ११ काठमाडौँ । केपी ओली कप फुटबलको दोस्रो संस्करणमा आयोजक केपी ओली फुटबल क्लबले विजयी सुरूआत गरेको छ।

शुक्रबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा केपी ओली फुटबल क्लबले चर्च ब्वाइज युनाइटेडलाई ३-० गोलले पराजित गरेको हो।

जितसँगै केपी ओली एफसीले क्वार्टरफाइनलमा स्थान बनाउँदा पराजित चर्च ब्वाइज बाहिरिएको छ। केपी ओली एफसीलाई जित दिलाउन जय गुरुङले दुई तथा फोडे फोफनाले एक गोल गरे।

उक्त प्रतियोगिताको उदघाटन पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले गरिन्।

उद्घाटन समारोहमा राष्ट्रिय युवा सघका अध्यक्ष क्षितिज थेबेले नेपालको खेलकुद जगतको विकास र खेलाडीहरुको पलायनको अन्त्यका लागि खेलको सुरुवात गरेको बताएका छन्।

उनले भने, ‘नेपालको खेलकुद जगतको सम्पूर्ण विकासको लागि र खेलाडीहरुको पलायनको अन्त्यको लागि खेलको सुरुवात गरेका छौ । सकारात्मक सोचको विकास र राजनीतिलाई हेर्ने नजर परिवर्तन गर्नको लागि पनि यो खेल अगाडि बढाईरहेका छौं।’

प्रतियोगितामा ए डिभिजनका जावलाखेल युथ क्लव, न्यूरोड टिम एनआरटी, थ्री स्टार, नेपाल पुलिस, त्रिभुवन आर्मी, मच्छिन्द्रसहित सात टिम र दुई विदेशी टिम भारतको दिल्ली एफसी, पश्चिम बंगाल क्लव र आयोजकगरी कुल १० टिमबिच प्रतिस्पर्धा हुनेछ।

फाइनल खेल फागुन १९ गते हुनेछ। विजेता टिमले ११ लाख र दोस्रो हुनेले पाँच लाख पुरस्कार प्राप्त गर्नेछ। सेमिफाइनल र फाइनल खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछन्। उदघाटन समारोहमा पार्टीका नेता, कार्यकर्ता, भ्रातृ संगठनका पदाधिकारीलगायत उपस्थिति थिए।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : ०८ बजे