विश्वकप लिग- २ : नमिबियाद्धारा नेदरल्याण्ड्स २४ रनले पराजित



काठमाडौं । आइसीसी विश्वकप लिग टूमा नामिबियासँग नेदरल्याण्ड्स २४ रनले पराजित भएको छ। प्रतिकुल मौसमका कारण ४५ ओभरमा झारिएको खेलमा नेदरल्याण्ड्सले ४३.५ ओभरमा सवै विकेट गुमाएर १७९ रन बनाएको थियो।

नेदरल्याण्डसलाई पराजित गरेको नामिबियाले विश्वकप लिग टूमा ४ मध्य ३ खेलमा जित निकाल्दै ६ अंकका साथ आफूलाई शीर्ष स्थानमा राखेको छ।
नेदरल्याण्ड्सलाई रोक्ने क्रममा नामिबियाका जेरार्ड इरास्मस र जान फ्रांक्लिनले तीन तीन विकेट लिए। यसैगरी ब्रेनान्र्ड स्कोट्जले २ विकेट हात पारेका थिए। रुवेन ट्रम्पलम्यान र जान निकोल इटोनले एक एक विकेट हात पारे।

नेदरल्याण्डस्का नोह क्रसले नटआउट ४६ रन बनाए पनि जित दिलाउन असफल भए। यसैगरी म्याक्स ओड ओडोडले ४१ रन बनाउँदा बास डी लिडले २४ रन बनाएका थिए। त्यसैगरी सिराज अहमदले १९ रन जोड्दा तेजा निदामनुराले १४ रन बनाएका थिए।

टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले ४१.३ ओभरमा सवै विकेट गुमाएर २०३ रनमात्रै बनाएको थियो। नामिबियालाई रोक्ने क्रममा नेदरल्याण्ड्सका भिभियन किंग्माले तीन तथा आर्यन दत्त, रोलेफ भान डेरले दुई दुई विकेट लिँदा सिराज अहमद, र बास डि लिडले एक एक विकेट हात पारे। नेदरल्याण्ड्सविरुद्ध नामिबियाको सुरुआत राम्रो भएन। टिमको स्कोर १ रन हुँदा नामिबियाले पहिलो विकेट गुमाएको थियो। उसका निकोलस डाभिन खाता नै नखोलेर पभेलियन फर्किए।

त्यसपछि दोस्रो विकेट मिचेल भान लिनगेनको रुपमा नामिबियाले गुमायो। दोस्रो विकेट गुम्दा ६.१ ओभरमा ३३ रन बनाएको थियो। मिचेल २१ बलमा दुई चौकाको मद्दतले १० रन बनाए। तेस्रो विकेटको रुपमा कप्तान जेरार्ड एरास्मस पभेलियन फर्किएका थिए। उनी २२ बलमा १२ रन जोडेर आउट भएका हुन् । कप्तान आउट हुँदा नामिबियाले १३.५ ओभरमा ६२ र न बनाएको थियो। चौथो विकेटको रुपमा ओपनर मलान क्रुगर आउट भए । क्रुगरले ४८ बलमा ३९ रनको पारि खेल्दा पाँच चौका हिर्काएका थिए।

लगत्तै पाँचौं विकेटको रुपमा जेजे स्मिथर खाता नखोली आउट भएका थिए। उनी पहिलै बलमा आउट भएका हुन्। त्यसपछि जान फ्रांक्लिन छैटौं विकेटको रुपमा ३४ रनको पारि खेलेर आउट भए। उनले ५७ बलमा चार चौकाको मद्दतले ३४ रन बनाएका थिए। फ्रांक्लिन आउट हुँदा नामिबियाले ६ विकेट गुमाएर ३२.२ ओभरमा १५५ रन बनाएको थियो। सातौं विकेटको रुपमा जान निकोलस रनआउट भए। निकोलसले ४३ बलमा दुई छक्का र छ चौका प्रहार गर्दै ४९ रन जोडे। यसैगरी जेन ग्रीनले २२ तथा रुवने ट्रम्पलम्यानले नटआउट २३ रन जोड्दा नामिबियाले २०० प्लसको स्कोर गर्न सफल भयो।

प्रकाशित मिति : ११ फाल्गुन २०८०, शुक्रबार  ८ : २६ बजे