आजको मौसम : देशका धेरै स्थानमा पानी पर्ने



काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज र भोली देशभरका धेरै स्थानहरुमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी न्यून चापीय प्रणाली पश्चिमबाट पूर्वतर्फ सर्दै जाने क्रममा यस प्रणालीको प्रभावका कारण आज (शनिबार) सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती प्रदेशको पहाडी भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ।

साथै आज कोशी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा पनि छिटपुट देखि हल्का वर्षा हुने छ। यसैगरि शनिबार सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको पनि महाशाखाले उल्लेख गरेको छ।

आईतबार पनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश सहित कोशी प्रदेशका पहाडी भू–भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा हुने र मधेश प्रदेशका थोरै स्थानहरूमा छिटफुट देखि हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। साथै, देशका उच्च पहाडी तथा हिमाली भू–भागका धेरै स्थानहरूमा हल्का देखि मध्यम हिमपात हुने सम्भावना रहेको छ। सोमबारबाट भने क्रमिक रूपमा मौसममा सुधार हुने देखिन्छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८०, शनिबार  ८ : ४१ बजे