ग्वार्को ओपरपास आजबाट सञ्चालनमा



ललितपुरको ग्वार्कोमा बनेको ओभरपासको आज उद्घाटन भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितीमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी प्रमुख एसएसपी नवराज अधिकारीले रिबन काटी सो ओभरपासको उद्घाटन गर्नुभएको हो ।
प्रधानमन्त्री ओली आफैले रिबन काटेर ओभरपासको उद्घाटन गर्ने तय भएपनि प्रधानमन्त्रीकै आग्रहमा एसएसपी अधिकारीले रिबन काट्नुभएको हो । एसएसपी अधिकारीले रिबन काटेपछि प्रधानमन्त्री ओलीसहित उपस्थित अन्यले ताली बजाएका थिए । त्यसपछि ग्वार्कोमा औपचारिक कार्यक्रम भएको थियो ।
सो ओभरपास निर्माणकार्य करिब साढे ४ बर्षअघि शुरु भएको हो । दुई वर्षभित्र काम सम्पन्न हुनेगरी २०७८ साल फागुन १२ गते आशिष–समानान्तर रेलिगेर जेभी निर्माण व्यवसायी कम्पनीसँग ठेक्का सम्झौता गरेको थियो । तर तोकिएको समयमा निर्माण सम्पन्न नभएपछि २०८१ असारमा निर्माण सम्पन्न हुनेगरी फेरि दोस्रोपटक म्याद थप भएको थियो । थपिएको समयमा पनि निर्माण सम्पन्न हुन नसकेपछि २०८१ साल पुस ८ गते सम्पन्न गर्नेगरी पुनः म्याद थप भयो । पटक–पटक म्याद थप गर्दा पनि ठेकेदार कम्पनीले निर्माण सम्पन्न गर्न नसकेपछि करिब एक करोड ४७ लाख हर्जाना तिराएर निर्माण सम्पन्न गरिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सडक विभागअन्तर्गत गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रवक्ता प्रदीप भण्डारीले जानकारी दिनुभयो ।
समयमै काम सम्पन्न हुन सक्दा तोकिएको भन्दा १४ करोड लागत थप भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । परियोजना सम्पन्न हुन करिब ३२ करोड रुपैयाँ लागेको छ ।
चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाइ ओभरपास बनाइएको हो । त्यसको तलबाट मंगलबजार–इमाडोल जाने सवारीसाधन निर्वाध चल्न सक्ने गरी ओभरपास बनाइएको छ । यसबाट सवारीको जाम कम हुने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ६ असार २०८२, शुक्रबार  ६ : ०७ बजे