डा. केसी पुनः सत्याग्रहमा



स्वास्थ्य क्षेत्रमा सुधारको माग गर्दै प्रा.डा. गोविन्द केसीले पुनः सत्याग्रह शुरु गर्नुभएको छ । निजी मेडिकल कलेजको सिट वृद्धि लगायतका निर्णयको विरोध गर्दै डा. केसीले तीन दिने सत्याग्रह सुरु गर्नुभएको हो । डा. केसीले धनगढीस्थित गेटा मेडिकल कलेजमा पत्रकार सम्मेलन गर्दै सत्याग्रह सुरु गरेको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा डा. केसीले निजी मेडिकल कलेजहरूको सिट वृद्धि गर्दा नेता र माफियाको झोला भरिने तर शिक्षाको गुणस्तर खस्किने भन्दै नेपालीको स्वास्थ्यसाग खेलबाड गर्न नमिल्ने बताउनुभयो ।

डा. केसीले सरकार र चिकित्सा शिक्षा आयोगका पछिल्ला निर्णयहरूले विद्यार्थी र जनतालाई लाभ नदिई उल्टै शिक्षा–स्वास्थ्य प्रणाली नै धरापमा पारेको आरोप लगाउनुभयो ।

निजी कलेजलाई पोस्ने नीतिमा सरकार लागेको भन्दै उहाँले त्रिवि मेडिकल अध्ययन संस्थानले १०० विद्यार्थी पढाउन हिच्किचाइरहेको अवस्थामा पूर्वाधार र बिरामी चाप नपुग्ने निजी कलेजलाई १३० सिट दिनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्नुभयो ।

डा. केसीले निजी मेडिकल कलेजको सिट वृद्धि फिर्ता गर्नुपर्ने, इलाम, उदयपुर र डडेलधुरामा सरकारी मेडिकल कलेज तथा अस्पताल खोल्नुपर्ने, कैलालीको गेटामा निर्माण सम्पन्न भइसकेको शिक्षण अस्पताल र शैक्षिक कार्यक्रम तत्काल सञ्चालन गर्नुपर्ने माग पनि राख्नुभएको छ । विगतमा भएका सम्झौता अनुसार एकीकृत प्रतिष्ठान ऐन, उच्च शिक्षा ऐन, गैरनाफामूलक मेडिकल शिक्षा र दरबन्दीसम्बन्धी प्रावधानलाई कार्यान्वयन गर्न पनि डा. केसीले माग गर्नुभएको छ ।

प्रकाशित मिति : १५ भाद्र २०८२, आइतबार  २ : २८ बजे