इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्ने व्यवस्था गर्न भाषा आयोगको आग्रह


रासस

१८ भाद्र २०८२, बुधबार  

0
Shares

भाषा आयोगले सवारी साधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामा नै हुनुपर्नेमा जोड दिएको छ ।

सरकारी कामकाजको भाषा नेपाली भाषा नै हुने व्यवस्था नेपालको संविधानको धारा ७ को उपधारा १ मा रहेको स्पष्ट पार्दै आयोगले सवारी साधनको नम्बर प्लेट अग्रेजी भाषामा हुने व्यवस्थाप्रति आपत्ति जनाएको ।

संविधानले नचिनेको भाषा र लिपीमा नभई नेपाली भाषामा नै इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने संवैधानिक व्यवस्था र सर्वोच्च अदालतको फैसलाको समेत आयोगले जानकारी गराएको छ ।

सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको नेपाली भाषाको वर्णविन्याससम्बन्धी फैसलामा नेपालको संविधानको धारा ७ को उपधारा ३ ले भाषासम्बन्धी अन्य कुरा भाषा आयोगको सिफारिसमा नेपाल सरकारले निर्णय गरे बमोजिम हुनेछ भनी स्पष्ट गरेको पाइन्छ भन्ने प्रावधान बमोजिम सबै तहका सरकारलाई सोही बमोजिम गर्न गराउन स्पष्ट व्याख्या भएको छ ।

भाषा आयोगले आफ्नो संवैधानिक दायित्व समेत बोध गर्दै देवनागरी लिपीमा विद्युतीय सङ्केत सङ्ख्या राख्न आयोगको यही भदौ १ को निर्णयानुसार नेपाल सरकारको पुनः ध्यानाकर्षण गराइएको आयोगका अध्यक्ष डा. गोपाल ठाकुरले जानकारी दिए।

प्रकाशित मिति : १८ भाद्र २०८२, बुधबार  १ : २५ बजे