श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगार सम्झौता नगरी कसैलाई पनि काम नगर्न/नगराउन सरोकारवालालाई अनुरोध गरेको छ ।
मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै केही अस्पताल तथा स्वास्थ्य संस्थामा कार्यरत चिकित्सक/स्वास्थ्यकर्मी/नर्सिङ स्टाफलगायत कर्मचारीका साथै अन्य प्रतिष्ठानमा कार्यरत व्यक्तिलाई नियमानुसार श्रम सम्झौता नगरी काममा लगाएको, प्रचलित कानुनले तोकेकोभन्दा बढी समय काममा लगाएको भन्ने उजुरी तथा गुनासाहरू प्राप्त भएको विषयमा मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको प्रष्ट पारेको छ ।
‘श्रम ऐन, २०७४ को दफा २ (ढ)मा ‘रोजगार सम्झौता’ भन्नाले रोजगारीको सेवा, शर्त र सुविधाका सम्बन्धमा रोजगारदाता र श्रमिकबीच भएको सम्झौता सम्झनुपर्छ’ र उक्त शब्दले ‘रोजगारदाताले श्रमिकलाई दिएको नियुक्तिपत्रसमेतलाई जनाउँछ’ भन्ने व्यवस्था छ ।
विज्ञप्तिमा कानुनबमोजिम प्रतिदिन ८ घण्टा र हप्तामा ४८ घण्टाभन्दा बढी समय काममा लगाउन नपाइने, बढी समय काम गर्न बाध्य पार्न नहुने र बढी समय काममा लगाउन परेमा प्रतिदिन ४ घण्टा र एक हप्तामा २४ घण्टाभन्दा बढी नहुने गरी लगाउन सकिने व्यवस्था रहेको उल्लेख छ ।
प्रचलित कानुनको पूर्णपालना गर्न मन्त्रालयले ध्यानाकर्षण गराएको छ । साथै, यसविपरीत कार्य गरेको पाइएमा श्रम ऐन, २०७४ बमोजिम कारबाही हुने मन्त्रालयले जनाएको छ ।





प्रतिक्रिया