सुस्ताएको घरजग्गा र निर्माण क्षेत्रलाई गति दिने लक्ष्यसहित भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ हुँदै



काठमाडौं  । सुस्ताउँदै गएको घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः चलायमान बनाउने, स्वदेशी लगानी आकर्षित गर्ने र रोजगारीका नयाँ अवसर सिर्जना गर्ने लक्ष्यसहित चितवनको भरतपुरमा ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुने भएको छ।

नारायणी जग्गा तथा आवास व्यवसायी संघ, भि ग्रुप र एसवन होम्सको संयुक्त आयोजनामा आगामी मंसिर २५ देखि २७ गतेसम्म (डिसेम्बर ११ देखि १३) भरतपुरस्थित चितवन उद्योग संघको एक्स्पो सेन्टरमा तीनदिने एक्स्पो सञ्चालन हुन लागेको हो। नारायणी जग्गा तथा आवास व्यवसायी संघका अध्यक्ष बाबुराम अधिकारीले एक्स्पोले सुस्ताएको घरजग्गा तथा निर्माण क्षेत्रलाई नयाँ गति दिने विश्वास व्यक्त गरे।

घरजग्गा कारोबारमा आएको मन्दी, लगानीको अभाव र युवाहरू वैदेशिक रोजगारीमा जाने क्रम बढिरहेका बेला स्वदेशमै लगानी तथा उद्यमशीलताको वातावरण निर्माण गर्नु एक्स्पोको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ।

नेपाल जग्गा तथा आवास व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष विष्णु घिमिरेले एक्स्पोले घरजग्गा तथा निर्माण व्यवसायलाई पुनः लयमा फर्काउन, आधुनिक निर्माण प्रविधिको प्रवर्द्धन गर्न र सुरक्षित तथा गुणस्तरीय आवास निर्माणबारे उपभोक्तालाई जानकारी दिन महत्वपूर्ण भूमिका खेल्ने बताए।

संघका अध्यक्ष अधिकारीले घरजग्गा तथा निर्माण क्षेत्र देशको अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रलाई चलायमान बनाउन सामूहिक पहल आवश्यक रहेको बताए।

उनले भने, “घरजग्गा तथा निर्माण क्षेत्रमा आएको सुस्तताले यससँग जोडिएका उद्योगी, व्यवसायी, निर्माण कम्पनी, श्रमिकदेखि सर्वसाधारणसम्म प्रभाव पारेको छ। यस्तो अवस्थामा स्वदेशमै लगानीको वातावरण सिर्जना गर्ने, आधुनिक निर्माण प्रविधिबारे जानकारी दिने र व्यवसायी तथा उपभोक्तालाई एउटै मञ्चमा जोड्ने उद्देश्यले हामीले बिल्ड नेपाल एक्स्पो आयोजना गर्न लागेका हौँ। यो एक्स्पो व्यवसाय प्रवर्द्धनसँगै समग्र निर्माण क्षेत्रलाई नयाँ दिशा दिने प्रयास पनि हो।”

एक्स्पोमा आधुनिक घर तथा आवास निर्माण सामग्री, प्रविधि, घरजग्गा तथा आवास परियोजना, निर्माण कम्पनीका सेवा र विभिन्न निर्माणसम्बन्धी उत्पादन तथा सेवाहरू प्रदर्शन गरिनेछ। घर निर्माण गर्दा अपनाउनुपर्ने सरकारी मापदण्ड, भवन संहिता, गुणस्तर र सुरक्षासम्बन्धी विषयमा समेत जानकारी प्रदान गरिने आयोजकले जनाएको छ।

घर निर्माण गर्न चाहने उपभोक्ता, घरजग्गा व्यवसायी, निर्माण कम्पनी, इन्जिनियर, आर्किटेक्ट, निर्माण सामग्री उत्पादक तथा विक्रेतालाई एउटै थलोमा जोड्ने एक्स्पोको लक्ष्य छ। घर निर्माणका क्रममा देखिने लागत वृद्धि, समयको बर्बादी र गुणस्तरसम्बन्धी समस्याबारे उपभोक्तालाई सही जानकारी तथा प्राविधिक परामर्श उपलब्ध गराउने अपेक्षा गरिएको छ।

एक्स्पो अवधिमा सरकारी निकायका प्रतिनिधि, निजी क्षेत्रका व्यवसायी, विषयविज्ञ, इन्जिनियर तथा उपभोक्ताबीच अन्तरक्रिया, परामर्श, अभिमुखीकरण र छलफलका कार्यक्रमसमेत सञ्चालन हुनेछन्। घरजग्गा खरिदकर्ता र विक्रेताबीच प्रत्यक्ष सम्पर्क स्थापित गर्दै नयाँ व्यावसायिक सम्बन्ध विस्तार गर्ने अवसर पनि उपलब्ध गराइनेछ।

राजधानी काठमाडौं पछिको महत्वपूर्ण आवास तथा निर्माण बजारका रूपमा विकास हुँदै गएको चितवनमा घरजग्गा तथा निर्माण क्षेत्रको सम्भावना उजागर गर्नु एक्स्पोको अर्को महत्वपूर्ण उद्देश्य रहेको अध्यक्ष अधिकारीले बताए।

“चितवन घरजग्गा तथा निर्माण व्यवसायका लागि सम्भावनायुक्त क्षेत्र हो। यहाँको भौगोलिक अवस्था, पूर्वाधार विकास र बढ्दो सहरीकरणले आवास तथा निर्माण क्षेत्रमा ठूलो सम्भावना देखाएको छ। हामी चितवनलाई केन्द्र बनाएर देशका विभिन्न जिल्लामा लगानीको वातावरण विस्तार गर्न चाहन्छौँ। यस एक्स्पोले लगानीकर्ता, व्यवसायी र उपभोक्ताबीच विश्वासको वातावरण निर्माण गर्न सहयोग पुर्‍याउनेछ भन्ने हाम्रो अपेक्षा छ,” अधिकारीले भने।

उनका अनुसार एक्स्पोले चितवनसहित देशका सम्भावनायुक्त जिल्लाहरूमा लगानी आकर्षित गर्दै आर्थिक गतिविधि बढाउन योगदान पुर्‍याउनेछ। विदेशमा सीप र अनुभव हासिल गरेका नेपाली युवालाई स्वदेश फर्किएर उद्यम तथा व्यवसाय सञ्चालन गर्न प्रेरित गर्ने, रोजगारीका नयाँ अवसर सिर्जना गर्ने र देशभित्रै लगानीको सम्भावना पहिचान गराउने लक्ष्यसमेत एक्स्पोले राखेको छ।

तीन दिनसम्म सञ्चालन हुने एक्स्पोमा घरजग्गा व्यवसायी, निर्माण कम्पनी, निर्माण सामग्री उत्पादक तथा विक्रेतासहित विभिन्न क्षेत्रका ६० भन्दा बढी प्रदर्शनी स्टल रहनेछन्। आयोजकले करिब २५ हजार अवलोकनकर्ताले एक्स्पो अवलोकन गर्ने अपेक्षा गरेको छ। इच्छुक प्रदर्शकका लागि स्टल बुकिङसमेत खुला गरिएको छ।

निर्माण कम्पनी, घरजग्गा व्यवसायी, निर्माण सामग्री उत्पादक तथा विक्रेता, इन्जिनियर, आर्किटेक्ट, लगानीकर्ता, विद्यार्थी तथा सर्वसाधारणले एक्स्पोबाट लाभ लिन सक्नेछन्। सर्वसाधारणका लागि निःशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

आयोजकका अनुसार ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ केवल घरजग्गा तथा निर्माण सामग्रीको प्रदर्शनी मात्र नभई सुरक्षित आवास, आधुनिक निर्माण प्रविधि, स्वदेशी लगानी, उद्यमशीलता र आर्थिक समृद्धिको सम्भावनालाई एउटै मञ्चमा जोड्ने अभियानका रूपमा अघि बढाइएको हो।

प्रकाशित मिति : ६ मंसिर २०८३, आइतबार  १ : ०४ बजे