संसदीय समितिहरुले पाए पूर्णता



संघीय संसदअन्तर्गतका समितिहरुका नवनिर्वाचित सभापतिहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालसमक्ष प्रतिनिधिसभाका १० र राष्ट्रिय सभाअन्तर्गतका २ समितिका सभापतिहरुले शपथ लिएका हुन् ।

शपथ समारोहमा उपसभामुख रुवीकुमारी ठाकुर, कानुन, न्याय तथा संसमदीय मामिलामन्त्री सोबिता गौतम, राष्ट्रिय सभाका उपाध्यक्ष लीलाकुमारी भण्डारी, राजनीतिक दलका संसदीय दलका पदाधिकारीलगायत उपस्थित थिए ।

शुक्रबार भएको निर्वाचनबाट १० वटा समितिमा सर्वसम्मत सभापति चयन भए भने दुई वटामा भने मतदान भएको थियो ।
राज्य व्यवस्था तथा सुशासन समितिको सभापतिमा राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकाल सर्वसम्मत निर्वाचन भए । कानुन न्याय तथा मानवअधिकार समिति सभापतिमा रास्वपाकी सांसद समीक्षा बास्कोटा सर्वसम्मत निर्वाचित भएकी छन् ।

यस्तै, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिमा रास्वपाका अशोककुमार चौधरी, पूर्वाधार विकास समिति सभापतिमा रास्वपाका आशिष गजुरेल, महिला तथा सामाजिक मामिला समिति सभापतिमा रास्वपाकी आकृति अवस्थी सर्वसम्मत निर्वाचित भए ।

संसदीय सुनुवाइ समिति सभापतिमा रास्वपाका बोधनारायण श्रेष्ठ, उद्योग वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिमा रास्वपाकै रहबर अन्सारी, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापतिमा रास्वपाका सुम्निमा उदास र अर्थ समिति सभापतिमा कृष्णहरि बुढाथोकी पनि सर्वसम्मत निर्वाचित भए ।

यसबाहेक सार्वजनिक लेखा समिति सभापतिमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका भरत खड्का पनि सर्वसम्मत निर्वाचित भए । रास्वपाको समर्थन पाएपछि यो समिति सभापतिमा खड्काको एकल उम्मेदवारी परेको थियो ।

बाँकी दुई वटा समिति सभापतिका लागि भने एकभन्दा बढी उम्मेदवारी पर्कोे थियो ।

राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन सभापतिमा दुई जनाको उम्मेदवारी परेको थियो । रास्वपाका तर्फबाट गणेश कार्की र नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट मदन कुमारी शाह (गरिमा) को उम्मेदवारी दिएका हुन् । रास्वपाको स्पष्ट बहुमत भएकाले कार्की निर्वाचित भए ।

प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापतिमा पनि दुई जनाको उम्मेदवारी परेको थियो । यो समिति सभापतिमा रास्वपाकी ओजस्वी शेरचन र नेकपा एमालेका गुरुप्रसाद बरालको उम्मेदवारी परेको थियो । यसमा पनि रास्वपाको स्पष्ट बहुमत भएकाले रास्वपाकी शेरचन निर्वाचित भइन् ।

प्रकाशित मिति : ४ बैशाख २०८३, शुक्रबार  ५ : ५९ बजे