पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध अख्तियारको मुद्दा



पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जना विरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले बिहीबार दायर गरेको मुद्दामा तत्कालीन अर्थमन्त्री कार्की, अर्थसचिव शंकरप्रसाद अधिकारी, तत्कालीन पर्यटन सचिव महेश्वर न्यौपाने, सहसचिवहरू सुरेश आचार्य, डण्डुराज घिमिरे र केवलप्रसाद भण्डारीलाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशक सञ्जीव गौतम, आयोजना निर्देशक तथा निवर्तमान महानिर्देशक प्रदीप अधिकारी, उपसचिव युगराज पाण्डे, शाखा अधिकृत उर्मिला भण्डारी तथा इन्जिनियर योगेश अर्यालविरुद्ध पनि मुद्दा दायर गरिएको छ ।

अख्तियारका अनुसार पोखरा विमानस्थल निर्माणका क्रममा मूल खरिद सम्झौताविपरीत चिनियाँ निर्माण कम्पनीलाई कर तथा राजश्व छुट दिइएको थियो । सम्झौताअनुसार ठेकेदार कम्पनीले नेपाल कानुनबमोजिम कर तथा शुल्क आफैं तिर्नुपर्ने व्यवस्था भए पनि पछि तयार गरिएको कार्यान्वयन सम्झौतामार्फत कम्पनीलाई दोहोरो लाभ पुग्ने गरी कर छुट दिइएको आयोगको दाबी छ ।

आयोगले यसबाट राज्यलाई ३ अर्ब ६२ करोड ५ लाख २२ हजार १६० रुपैयाँ बराबरको हानी पुगेको निष्कर्ष निकालेको छ । सोही रकमलाई बिगो कायम गर्दै अख्तियारले प्रतिवादीहरूसँग बिगो असुलउपर, जरिवाना तथा कैद सजायको माग गरेको छ ।

अख्तियारले चिनियाँ निर्माण कम्पनी सीएएमसी, कम्पनीका अध्यक्ष वाङ बो, प्रोजेक्ट म्यानेजर याङ झिगाङ तथा कम्पनी व्यवस्थापकलाई समेत प्रतिवादी बनाएको जनाएको छ ।

पोखरा विमानस्थलसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा अख्तियारले यसअघि पनि दुई वटा मुद्दा दायर गरिसकेको थियो । बिहीबार दायर गरिएको यो मुद्दा उक्त परियोजनासँग सम्बन्धित तेस्रो भ्रष्टाचार मुद्दा हो ।

प्रकाशित मिति : २४ बैशाख २०८३, बिहिबार  ६ : १४ बजे