३० वर्षीय अभिजित दिपके विगत ७२ घण्टादेखि राम्रोसँग सुत्न पाएका छैनन्। सामाजिक सञ्जालमा उनले ठट्टामा गरेको एउटा पोष्टले यति ठुलो रूप लेला भनेर उनले सोचेका पनि थिएनन्। अमेरिकाको बोस्टन युनिभर्सिटीबाट पब्लिक रिलेसन्समा भर्खरै स्नातक गरेका दिपकेले सुरु गरेको व्यङ्ग्यात्मक राजनीतिक अभियान ‘ककरोच जनता पार्टी’ मा अहिले हरेक दिन हजारौँ मानिसहरू जोडइरहेका छन्।
केही दिनअघि भारतको सर्वोच्च अदालतका न्यायाधीशले एउटा मुद्दाको सुनुवाइका क्रममा प्रणालीमाथि प्रहार गर्ने केही युवाहरूलाई ‘साङ्लो’ सँग तुलना गर्दै टिप्पणी गरेका थिए। उनले भनेका थिए, “केही युवाहरू साङ्लो जस्तै हुन्छन्, जसले न कुनै रोजगारी पाउँछन् न त आफ्नो पेशामा कुनै स्थान नै बनाउन सक्छन्। तिनीहरूमध्ये कोही मिडिया, कोही सामाजिक सञ्जाल त कोही आरटीआई अभियन्ता बन्छन् र सबैमाथि आक्रमण गर्न थाल्छन्।”
यद्यपि, पछि उनले आफ्नो टिप्पणी शैक्षिक प्रमाणपत्र किन्नेहरूका लागि मात्र भएको र देशका खम्बा मानिने युवाहरूका लागि नभएको भन्दै प्रष्टीकरण दिए। तर, बेरोजगारी, महँगी र धार्मिक विभाजनको सामना गरिरहेका भारतीय युवा जेन्जी माझ यो टिप्पणीले आक्रोशको रूप लियो।
यही आक्रोशका बीच अभिजित दिपकेले सामाजिक सञ्जाल एक्स (ट्विटर) मा एउटा व्यङ्ग्यात्मक प्रश्न गरे– “के होला यदि सबै साङ्लो (ककरोच) हरू एकै ठाउँमा आए भने?”
त्यसपछि उनले सामाजिक सञ्जालमा ‘ककरोच जनता पार्टी’ नामको अकाउन्ट र वेबसाइट बनाए, जुन भारतको सत्तारुढ दल भारतीय जनता पार्टीको नामसँग मिल्दोजुल्दो छ।
दिपकेले अलजजिरासँग कुरा गर्दै भने, “सत्तामा बस्नेहरूले नागरिकलाई साङ्लो वा परजीवी सम्झन्छन्। उनीहरूलाई थाहा हुनुपर्छ कि साङ्लोहरू कुहिएको ठाउँमै फैलिन्छन् र आजको भारत त्यस्तै भएको छ।”
यो व्यङ्ग्यात्मक पार्टीको इन्स्टाग्राम अकाउन्टमा मात्र तीन दिनमा ३० लाखभन्दा बढी फलोअर्स पुगेका छन् र गुगल फर्ममार्फत ३ लाख ५० हजारभन्दा बढीले सदस्यता लिएका छन्।
अचम्मको कुरा त के छ भने, विपक्षी सांसद महुआ मोइत्रा र पूर्व सांसद कीर्ति आजाद जस्ता राजनीतिक हस्तीहरूले पनि यसको सदस्यता फर्म भरेका छन्। केही अवकाशप्राप्त उच्च कर्मचारीहरूले पनि देशमा बढ्दो डर र घृणाको वातावरणका बीच यो अभियानलाई ‘ताजा हावाको झोक्का’ भनेका छन्।
दिपकेले एआई टुल्सको प्रयोग गरेर २४ घण्टाभित्रै पार्टीको रूपरेखा र घोषणापत्र तयार पारेका थिए। यस पार्टीको सदस्य बन्नका लागि ४ वटा हास्यास्पद योग्यता तोकिएको छ । ती हुन्, बेरोजगार हुनुपर्ने, अल्छी हुनुपर्ने, चौबीसै घण्टा अनलाइन बस्ने, र व्यावसायिक रूपमा आक्रोश पोख्न सक्ने ।
यसको नारा छ: “युवाहरूको, युवाहरूद्वारा, युवाहरूका लागि राजनीतिक मोर्चा। धर्मनिरपेक्ष–समाजवादी–लोकतान्त्रिक–अल्छी।”
भारतमा हाल स्नातक तह उत्तीर्ण गरेका युवाहरूमा बेरोजगारी दर २९.१ प्रतिशत छ। परीक्षाका प्रश्नपत्रहरू बाहिरिने र विद्यार्थी आन्दोलन भइरहेका बेला न्यायाधीशको यस्तो टिप्पणी आउनुले युवाहरूको मनमा गहिरो चोट पुर्याएको थियो।
वरिष्ठ अधिवक्ता प्रशान्त भूषण भन्छन्, “मानिसहरू यस व्यङ्ग्यसँग जोडिनुको कारण यो रमाइलो भएर मात्र होइन, बरु उनीहरू भित्रको आक्रोश र निराशाका कारण हो। मानिसहरू अब प्रश्न सोध्न र जवाफदेहिता खोज्न थालेका छन्।”
सुरुमा ठट्टाबाट सुरु भएको यो अभियानलाई दिपकेले अब एउटा ठुलो जिम्मेवारीका रूपमा लिएका छन्। उनी भन्छन्, “भारतमा मानिसहरू धेरै लामो समयदेखि शान्त बसेका छन्। अब यो क्षणलाई केवल हाँसेर मात्र उडाउनु हुँदैन।”





प्रतिक्रिया