गणतन्त्र दिवसमा राष्ट्रपतिले सम्बोधन गर्ने, प्रधानमन्त्री बालेन नबोल्ने



अबदेखि गणतन्त्र दिवसको मूल समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने भएका छन् । यसअघि हरेक वर्ष प्रधानमन्त्रीले सम्बोधन गर्ने परम्परा रहेकामा सरकारले यस वर्षदेखि उक्त व्यवस्था परिवर्तन गरेको हो ।

सरकारको पछिल्लो मन्त्रिपरिषद् बैठकले गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने निर्णय गरेको स्रोतले जनाएको छ । सोही निर्णयअनुसार प्रधानमन्त्री बालेन शाहले राष्ट्रपतिलाई सम्बोधन गरिदिन आग्रहसहित पत्र पठाएका छन् ।

आइतबार मुख्य सचिव सुमनराज अर्याल मन्त्रिपरिषद्को निर्णय र प्रधानमन्त्रीको अनुरोधपत्र लिएर राष्ट्रपति भवन शीतल निवास पुगेका थिए ।

राष्ट्रपति कार्यालय स्रोतका अनुसार गणतन्त्रको संवैधानिक तथा प्रतीकात्मक नेतृत्व राष्ट्रपतिसँग रहने भएकाले गणतन्त्र दिवसमा राष्ट्रपतिबाट सम्बोधन हुनु उपयुक्त हुने निष्कर्ष निकालिएको हो ।

‘गणतन्त्रको प्रतीक राष्ट्रपति भएकाले गणतन्त्र दिवसको समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्नु उपयुक्त हुन्छ भन्ने विषयमा प्रधानमन्त्रीको तर्फबाट पहिलेदेखि नै मौखिक आग्रह हुँदै आएको थियो,’ राष्ट्रपति कार्यालय स्रोतले जनाएको छ ।

यस निर्णयलाई ‘प्रधानमन्त्रीले नबोल्ने’ भन्दा पनि ‘राष्ट्रपतिले सम्बोधन गर्ने नयाँ अभ्यास सुरु भएको’ रूपमा बुझ्नुपर्ने राष्ट्रपति कार्यालयको भनाइ छ ।

हरेक वर्ष जेठ १५ गते सैनिक मञ्च टुँडिखेलमा गणतन्त्र दिवसको विशेष समारोह आयोजना हुँदै आएको छ । समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभा अध्यक्षलगायत विशिष्ट व्यक्तिहरू सहभागी हुने गरेका छन् ।

नेपालमा २०६५ साल जेठ १५ गते गणतन्त्र घोषणा भएपछि हरेक वर्ष प्रधानमन्त्रीले गणतन्त्र दिवस समारोहलाई सम्बोधन गर्ने परम्परा रहँदै आएको थियो ।

प्रधानमन्त्री बनेयता सार्वजनिक समारोहमा कम देखिएका बालेन शाहले यसपटक पनि टुँडिखेलमा सम्बोधन नगर्ने निर्णय गरेका हुन् ।

संविधानको धारा ६६ अनुसार राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिस र सम्मतिमा काम गर्ने व्यवस्था रहेको छ । सोही संवैधानिक प्रावधानअनुसार यस वर्ष गणतन्त्र दिवस समारोहलाई राष्ट्रपतिले सम्बोधन गर्ने तयारी गरिएको हो ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार  ३ : ०६ बजे