अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सका सेयरहरू अमेरिकी शेयर बजारमा कारोबार हुन थालेका छन् । यो इतिहासकै सबैभन्दा ठूलो प्रारम्भिक सार्वजनिक निष्कासन बन्न सक्ने अनुमान गरिएको छ ।
यदि कम्पनीले प्रस्ताव गरेको प्रतिशेयर १३५ अमेरिकी डलर (करिब १०० पाउण्ड) को मूल्यमा सेयर बिक्री गर्न सफल भयो भने, संस्थापक एलन मस्क विश्वकै पहिलो ट्रिलियन डलर सम्पत्तिका मालिक बन्ने मार्गमा पुग्नेछन्।
स्पेसएक्सले यस आईपीओमार्फत ७५ अर्ब अमेरिकी डलर जुटाउने लक्ष्य राखेको छ । यो रकम सन् २०१९ मा साउदी अरेबियाको तेल कम्पनी साउदी अराम्कोले आईपीओबाट उठाएको २५.६ अर्ब डलरको कीर्तिमानभन्दा निकै ठूलो हुनेछ ।
यद्यपि, कारोबार सुरु भएलगत्तै सेयरको वास्तविक बजार मूल्य भने सार्वजनिक नहुन सक्ने व्यवसायिक विश्लेषकहरूले बताएका छन् ।
एलन मस्कको स्पेसएक्समा ८० प्रतिशतभन्दा बढी स्वामित्व रहेको छ। कम्पनीले नासाका लागि प्रयोग हुने रकेट तथा अन्तरिक्ष पूर्वाधार निर्माण गर्दै आएको छ ।
स्पेसएक्सले मस्कका अन्य उद्यमहरू, जस्तै कृत्रिम बुद्धिमत्ता कम्पनी एक्स एआइ र इन्टरनेट सेवा स्टारलिङ्कलाई पनि आफ्नो स्वामित्वमा राखेको छ ।
न्युयोर्कमा कारोबार सुरु हुनुअघि टेक्सासस्थित कम्पनी मुख्यालयबाट सम्बोधन गर्दै मस्कले भने, “एल सेगुन्डोको एउटा गोदामबाट सुरु भएको सानो कम्पनी आज इतिहासकै सबैभन्दा ठूलो आईपीओसहित सार्वजनिक कम्पनी बन्न लागेको कुरा विश्वास गर्न गाह्रो लाग्छ ।”
उनले थपे, “स्पेसएक्स सफल हुने सम्भावना मैले सुरुआतमा १० प्रतिशतभन्दा कम देखेको थिएँ ।”
मस्कले मानव जातिलाई अन्तरिक्षमा बसोबास गर्न सक्षम बनाउने आफ्नो दीर्घकालीन लक्ष्य पनि दोहोर्याए ।
उनले भने, “हामी चन्द्रमामा जान चाहने जोसुकैलाई, मंगल ग्रहमा जान चाहने जोसुकैलाई, वा सौर्यमण्डलको जुनसुकै स्थानमा पुग्न चाहने व्यक्तिलाई त्यहाँ पुर्याउन सक्षम हुन चाहन्छौं। स्पेसएक्सको उत्कृष्ट टोलीका साथ हामी त्यो लक्ष्य अवश्य हासिल गर्नेछौं भन्नेमा म विश्वस्त छु ।”





प्रतिक्रिया