अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच हुन लागेको सम्झौता अझै अन्तिम नभएको बताएका छन् । उनले सम्झौता कार्यान्वयन नभए वा इरानले आफ्नो प्रतिबद्धता पूरा नगरे अमेरिका पुनः सैन्य कारबाहीमा फर्किन सक्ने चेतावनी दिएका छन् ।
फ्रान्समा सम्पन्न जी–७ शिखर सम्मेलनको अन्तिम दिन सञ्चारकर्मीसँग कुरा गर्दै ट्रम्पले भने, “यदि उनीहरूले सम्झौताको पालना गरेनन् भने, हामी फेरि उनीहरूमाथि बम खसाल्न फर्किनेछौं ।“ उनका अनुसार अहिलेको सहमति प्रारम्भिक चरणमा मात्र रहेको छ ।
अमेरिका र इरानबीच भएको सम्झौताको पूर्ण विवरण अझै सार्वजनिक गरिएको छैन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार यस सम्झौतामा इरानमाथि लगाइएका तेल निर्यातसम्बन्धी केही अमेरिकी प्रतिबन्धहरू हटाउने व्यवस्था समावेश हुन सक्ने अनुमान गरिएको छ।
यो समझदारीपत्र शुक्रबार स्विट्जरल्याण्डको ब्युर्गेनस्टक रिसोर्टमा औपचारिक रूपमा हस्ताक्षर हुने कार्यक्रम छ । हस्ताक्षर समारोहमा अमेरिकी उपराष्ट्रपति जेडी भान्स र इरानी संसदका सभामुख मोहम्मद बाघेर घालिबाफ सहभागी हुने अपेक्षा गरिएको छ ।
सम्झौतापछि इरानको आणविक कार्यक्रम, संवेदनशील आणविक सामग्रीको व्यवस्थापन तथा दीर्घकालीन शान्ति सम्झौताका विषयमा नयाँ चरणको वार्ता पनि शुक्रबारदेखि नै सुरु हुने जनाइएको छ ।
यसअघि जी–७ का सदस्य राष्ट्रहरूले इरानसँगको सहमति दीर्घकालीन र प्रभावकारी बन्नुपर्नेमा जोड दिँदै “बलियो र भरपर्दो” सम्झौताको आवश्यकता औंल्याएका थिए ।
यद्यपि, सम्झौताको वास्तविक पाठ सार्वजनिक नभएकाले यसको सर्त, दायरा र कार्यान्वयन प्रक्रिया कस्तो हुने भन्ने विषय अझै स्पष्ट भइसकेको छैन । त्यसैले आगामी वार्ताको नतिजा र सम्झौतापछि दुवै पक्षले गर्ने व्यवहारलाई अन्तर्राष्ट्रिय समुदायले चासोका साथ हेरिरहेको छ ।




प्रतिक्रिया