फिफा विश्वकप २०२६ : ब्रजिल अन्तिम १६ मा पुग्दा जर्मनी र नेदरल्यान्ड्स बाहिरिए



फिफा विश्वकप २०२६ अन्तर्गत अन्तिम १६ मा पुग्ने दौडमा दुई युरोपेली शक्तिशाली टोली जर्मनी र नेदरल्यान्ड्स स्तब्ध बनेका छन् ।

जर्मनी पेराग्वेसँग निर्धारित र अतिरिक्त समय १–१ को बराबरीपछि भएको पेनाल्टी सुटआउटमा ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको हो । यता नेदरल्यान्ड्स पनि मोरक्कोसँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकप यात्राको अन्त्य भएको छ ।

जर्मनीका लागि यो हार ऐतिहासिक बनेको छ। विश्वकप इतिहासमा जर्मनी पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो ।

यसअघि जर्मनीले विश्वकपमा खेलेका सबै चार पेनाल्टी सुटआउट जितेको थियो । उसले सन् १९८२ मा फ्रान्सविरुद्ध (सेमिफाइनल), सन् १९८६ मा मेक्सिकोविरुद्ध (क्वार्टरफाइनल), सन् १९९० मा इंग्ल्यान्डविरुद्ध (सेमिफाइनल) र सन् २००६ मा अर्जेन्टिनाविरुद्ध (क्वार्टरफाइनल) खेलमा पेनाल्टी सुटआउटमा विजयी भएकाे थियाे ।

विश्वकपमा अपराजित रहेको जर्मनीको पेनाल्टी रेकर्ड यसपटक पेराग्वेले तोडिदिएको हो ।

यति मात्र होइन, जर्मनीले कुनै पनि प्रमुख अन्तर्राष्ट्रिय प्रतियोगितामा पछिल्लो पटक सन् १९७६ को युरोपियन च्याम्पियनसिप (युरो) को फाइनलमा तत्कालीन चेकोस्लोभाकिया विरुद्ध पेनाल्टीमा हार बेहोरेको थियो । उक्त खेलमा चेकोस्लोभाकियाका अन्तोनिन पानेन्का ले प्रख्यात ‘पानेन्का’ शैलीमा निर्णायक पेनाल्टी गोल गरेका थिए, जुन अहिले पनि फुटबल इतिहासको सबैभन्दा चर्चित पेनाल्टीमध्ये एक मानिन्छ ।

पेराग्वेको ऐतिहासिक जितपछि त्यहाँ सरकारले राष्ट्रिय बिदासमेत घोषणा गरेको छ ।

यता प्रशिक्षक कार्लो एन्सेलोटीको नेतृत्वमा रहेको ब्राजिलले पुनरागमन गर्दै जापानलाई पराजित गरेर अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ ।

प्रकाशित मिति : १६ असार २०८३, मंगलबार  १ : २१ बजे