मेक्सिको विश्वकपको अन्तिम १६ मा, इक्वेडर २–० ले पराजित



मेक्सिकाेले घरेलु समर्थकको शानदार साथमा इक्वेडरलाई २–० ले पराजित गर्दै विश्वकप फुटबलको अन्तिम १६ (राउन्ड अफ १६) मा स्थान बनाएको छ ।

वर्षाका कारण एक घण्टा ढिलो सुरु भएको खेलमा घरेलु टोली मेक्सिकोले आक्रामक प्रदर्शन गर्दै पहिलो हाफमै दुई गोलको अग्रता बनायो ।

पहिलो गोल कोलम्बियामा जन्मिएका विंगर जुलियन क्विनाेनेजले गरे। उनले बायाँतर्फबाट बल अघि बढाउँदै उत्कृष्ट प्रहारमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। यो उनको यस प्रतियोगिताको तेस्रो गोल हो।

केही समयपछि क्विनोनेसकै पासमा राउल जिमेनेजले दोस्रो गोल गरे र मेक्सिकोलाई २–० को सहज अवस्थामा पुर्‍याए।

दोस्रो हाफमा इक्वेडरले खेलमा फर्कने प्रयास गरे पनि गोल गर्न सकेन । खेलको इन्जुरी समयमा इक्वेडरका डिफेन्डर पिएराे हिनक्यापीले विपक्षी खेलाडीसँग मुख छोपेर कुरा गरेको भन्दै रातो कार्ड पाए । उनी यस प्रतियोगितामा यस्तो कारणले रातो कार्ड पाउने दोस्रो खेलाडी बने ।

मेक्सिकोले यस विश्वकपमा लगातार चौथो जित निकाल्दै हालसम्म ८ गोल गरेको छ भने कुनै गोल खाएको छैन । टोलीले सन् १९८६ पछि पहिलो पटक नकआउट चरणको खेल जित्न सफल भएको हो ।

८० हजारभन्दा बढी दर्शकले भरिएको अज्टेका रंगशालाको उत्साहपूर्ण वातावरण मेक्सिकोका लागि ठूलो बल बनेको देखियो । समुद्री सतहबाट २,००० मिटरभन्दा बढी उचाइमा रहेको यस रंगशालामा खेल्नु विदेशी टोलीका लागि थप चुनौतीपूर्ण मानिन्छ, जबकि मेक्सिकन खेलाडीहरू यस्ता परिस्थितिमा खेल्न अभ्यस्त छन् ।

अज्टेका रंगशालामा मेक्सिकोको विश्वकप इतिहास पनि निकै प्रभावशाली छ । टोलीले यहाँ खेलेका विश्वकपका १० खेलमध्ये कुनै पनि खेल हारेको छैन, जसले आगामी चरणमा पनि उनीहरूलाई घरेलु मैदानको ठूलो मनोवैज्ञानिक र प्राविधिक फाइदा दिलाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : १७ असार २०८३, बुधबार  ११ : ४२ बजे