बालिकाको बलात्कारपछि हत्या घटनाले पश्चिम बंगालमा तनाव



भारतको पश्चिम बंगाल राज्यमा ११ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनाले केही दिनयता ठूलो आक्रोश र राजनीतिक विवाद उत्पन्न गरेको छ ।

कोलकाताको बाहिरी क्षेत्र बारुइपुरस्थित सूर्यपुर गाउँमा ती बालिका हराएको भनी परिवारले शनिबार प्रहरीमा उजुरी दिएको थियो । आइतबार बिहान उनको शव पोखरीबाट झोलाभित्र फेला परेको थियो ।

यस घटनापछि क्षेत्र तनावग्रस्त बनेको छ । आक्रोशित भीडले तोडफोड र प्रदर्शन गरेपछि एक युवाको कुटपिटबाट मृत्यु भएको छ भने प्रहरी कारबाहीमा मुख्य आराेपित प्रभाष मण्डल पनि मारिएका छन् । अन्य तीन जना पक्राउ परेर हिरासतमा छन् ।

परिवारका अनुसार बालिका शनिबार दिउँसो साथीको जन्मदिनका लागि उपहार किन्न घरबाट निस्किएकी थिइन् । रातिसम्म घर नफर्किएपछि परिवारले प्रहरीसँग खोजीका लागि आग्रह गरेको थियो ।

तर स्थानीय बासिन्दा र परिवारले प्रहरीले प्रारम्भिक उजुरीलाई गम्भीर रूपमा नलिएको आरोप लगाएका छन् । पछि गाउँलेहरूले स्वयं सीसीटीभी फुटेज हेर्दा बालिका प्रभाष मण्डलसँग हिँडिरहेको देखिएको बताइएको छ ।

प्रहरीले प्रभाष मण्डललाई नियन्त्रणमा लिएपछि केही घण्टामै बालिकाको शव पोखरीबाट निकालिएको थियो । पोस्टमार्टम रिपोर्टमा मृत्युको कारण डुबेर भएको उल्लेख भएपछि उनलाई जीवितै पोखरीमा फालिएको हुन सक्ने आशंका व्यक्त गरिएको छ ।

प्रहरीले समयमै कदम चालेको भए बालिकाको ज्यान बचाउन सकने परिवारकाे दाबी छ ।

मे महिनामा पहिलोपटक पश्चिम बंगालमा सत्ता हासिल गरेको भारतीय जनता पार्टी (भाजपा) सरकारमाथि विपक्षी दलहरूले महिलाको सुरक्षा गर्न असफल भएको आरोप लगाएका छन् ।

मुख्यमन्त्री सुवेन्दु अधिकारीले भने आरोप अस्वीकार गर्दै दोषीलाई कडा कारबाही हुने आश्वासन दिएका छन् । उनले पीडित परिवारलाई भेटेर न्याय दिलाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

मुख्यमन्त्रीको भ्रमण भएको २४ घण्टा नबित्दै प्रभाष मण्डल प्रहरी ‘इनकाउन्टर’मा मारिए । प्रहरीले घटनास्थल पुनर्निर्माणका क्रममा उनले प्रहरीको हतियार खोसेर गोली चलाउन खोजेपछि जवाफी फायर गर्नुपरेको जनाएको छ ।

तर मानवअधिकारकर्मी र विपक्षी नेताहरूले यस घटनामाथि प्रश्न उठाएका छन् । उनीहरूका अनुसार भारतका विभिन्न राज्यमा हुने प्रहरी ‘इनकाउन्टर’का कथाहरू प्रायः एउटै ढाँचाका हुने गरेका छन् ।

घटना धार्मिक तनावतर्फ मोडिन सक्ने चिन्ता पनि व्यक्त गरिएको छ, किनकि पीडित बालिका मुस्लिम समुदायकी थिइन् भने पक्राउ परेका व्यक्तिहरू हिन्दु समुदायका छन् ।

स्थानीय भाजपा नेता सुसान्त मण्डलको घरमाथि पनि आक्रमण भएको छ । भीडले उनलाई आरोपीहरूलाई सहयोग गरेको आरोप लगाए पनि उनले त्यसलाई अस्वीकार गरेका छन् ।

सार्वजिनक क्षेत्रमा भेला निषेध गरिएको छ। ठूलो संख्यामा प्रहरी र अर्धसैनिक बल परिचालन गरिएको छ भने सरकारले विशेष अनुसन्धान टोली गठन गरेर घटनाको छानबिन सुरु गरेको छ ।

यो घटना पश्चिम बंगालमा महिला सुरक्षासम्बन्धी बहसलाई पुनः तीव्र बनाउने प्रमुख विषय बनेको छ ।

प्रकाशित मिति : २५ असार २०८३, बिहिबार  ७ : ३६ बजे