चीनले पहिलोपटक पुनः प्रयोग गर्न मिल्ने रकेट सफलतापूर्वक अवतरण गराएको छ । यसलाई चीनको अन्तरिक्ष कार्यक्रमका लागि महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ ।
चीन एरोस्पेस साइन्स एन्ड टेक्नोलोजी कर्पोरेसनका अनुसार ‘लङ मार्च १०बी’ रकेट शुक्रबार स्थानीय समयअनुसार दिउँसो १२:१५ बजे दक्षिणी चीनको हैनान प्रान्तबाट प्रक्षेपण गरिएको थियो ।
रकेटको माथिल्लो चरणबाट छुट्टिएको करिब ६ मिनेटपछि यसको बुस्टर पृथ्वीमा ठाडो रूपमा फर्कियो र समुद्रमा रहेको फ्लोटिङ प्लेटफर्ममा सफलतापूर्वक पुनः प्राप्त गरियो ।
यो सफलतासँगै पुनः प्रयोगयोग्य रकेट प्रविधिमा चीनले अमेरिकाको प्रभुत्वलाई चुनौती दिन सक्ने संकेत देखिएको छ । यसअघि स्पेसएक्स र ब्लु ओरिजिन ले यस्ता सफल अवतरण गरिसकेका छन् ।
सामान्यतया रकेटका विभिन्न भाग प्रक्षेपणपछि फालिने भएकाले प्रत्येक उडान महँगो पर्छ । तर बुस्टरलाई पुनः प्रयोग गर्न सकिएमा उपग्रह प्रक्षेपण र अन्तरिक्ष अन्वेषणको लागत उल्लेखनीय रूपमा घटाउन सकिन्छ ।
स्पेसएक्स ले सन् २०१५ मा पहिलोपटक ‘फाल्कन ९’ रकेटलाई कक्षीय उडानपछि सुरक्षित अवतरण गराएको थियो । अहिले फाल्कन ९ ले वर्षमा करिब १५० पटक उडान भर्छ र एउटै बुस्टरलाई दर्जनौँ पटक पुनः प्रयोग गर्न सकिन्छ ।
चीनले फेब्रुअरीमा ‘लङ मार्च १०ए’ मार्फत पुनः प्रयोगयोग्य रकेट पुनः प्राप्त गर्ने पहिलो प्रयास गरेको थियो । त्यसबेला रकेट नियन्त्रित रूपमा समुद्रमा अवतरण भए पनि पूर्ण रूपमा पुनः प्राप्त गरिएको थिएन ।
यसपटकको ‘लङ मार्च १०बी’ भने कम्तीमा १६ मेट्रिक टन भार तल्लो पृथ्वी कक्षामा पुर्याउन सक्ने क्षमता भएको रकेट हो । यसको तुलना प्रायः फाल्कन ९ सँग गरिन्छ ।
यद्यपि यसको अवतरण प्रणाली फरक छ । फाल्कन ९ जस्तै जमिन वा ड्रोन जहाजमा स्वतन्त्र रूपमा अवतरण नगरी, ‘लङ मार्च १०बी’ मा रहेका विशेष ‘ल्यान्डिङ हुक’हरूले फ्लोटिङ प्लेटफर्ममा जोडिएको जालमा समातेर अवतरण गराउँछन् ।




प्रतिक्रिया