विश्वकै प्रतिष्ठित ‘फिल्ड्स मेडल’ पहिलोपटक दुई चिनियाँ गणितज्ञलाई



विश्व गणितको सबैभन्दा प्रतिष्ठित पुरस्कार मानिने ‘फिल्ड्स मेडल’ पहिलोपटक दुई चिनियाँ गणितज्ञले जितेका छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार हङ वाङ र यू देङले अमेरिका निवासी जोन पार्डन र क्यानडाका जेकब सिमरम्यानसँगै यस वर्षको फिल्ड्स मेडल प्राप्त गरेका हुन् ।

विजेताहरूले जनही १५ हजार क्यानेडियन डलर (करिब १० हजार ५०० अमेरिकी डलर) पुरस्कार प्राप्त गरेका छन् ।

हङ वाङ र यू देङ दुवैले एक शताब्दीभन्दा लामो समयदेखि गणितज्ञहरूलाई चुनौती दिँदै आएका जटिल गणितीय समस्याको समाधान गरेपछि यो सम्मान पाएका हुन् । ३५ वर्षीया हङ वाङ फिल्ड्स मेडल प्राप्त गर्ने इतिहासकै तेस्री महिला पनि बनेकी छन् । उनी हाल अमेरिका र फ्रान्सका विश्वविद्यालयमा अध्यापन गराउँछिन् ।

फिल्ड्स मेडललाई गणित क्षेत्रको ‘नोबेल पुरस्कार’ सरह मानिन्छ । कृत्रिम बुद्धिमत्ताको तीव्र विकासले गणनात्मक अनुसन्धानमा नयाँ चुनौती सिर्जना गरिरहेका बेला अमेरिकामा आयोजित समारोहमा यो पुरस्कार प्रदान गरिएको हो ।

यो उपलब्धिपछि चिनियाँ सामाजिक सञ्जालमा उत्साह छाएको छ । चिनियाँ सञ्चारमाध्यमले पनि उनीहरूको शैक्षिक यात्रा, अनुसन्धान र उपलब्धिलाई व्यापक रूपमा प्राथमिकता दिएका छन् ।

पहिलो चिनियाँ मूलका फिल्ड्स मेडल विजेता शिङ–टुङ याउले भने, “चीनको गणित समुदायका लागि यो दशकौँदेखि देखिएको सपना पूरा भएको क्षण हो ।”

हङ वाङले आफ्ना सहकर्मी जोश जाहलसँग मिलेर जापानी गणितज्ञ सोइची काकेयाले सन् १९१७ मा उठाएको प्रसिद्ध काकेया समस्या’ समाधान गरेकी हुन् । यो समस्याले कुनै वस्तु (जस्तै पेन्सिल) लाई पूर्ण रूपमा घुमाउँदा त्यसले ओगट्ने न्यूनतम क्षेत्रफल कति हुन्छ भन्ने प्रश्न उठाएको थियो। वाङ र जाहलले यसलाई त्रि-आयामिक अन्तरिक्षको आधारमा विश्लेषण गर्दै गत वर्ष अनुसन्धान प्रकाशित गरेका थिए ।

त्यस्तै, ३७ वर्षीय यू देङले जर्मन गणितज्ञ डेभिड हिल्बर्टले सन् १९०० मा प्रस्तुत गरेको ‘हिल्बर्टको छैटौँ समस्या’ समाधान गरेका हुन् । उनले ग्यासका अणुहरूको व्यवहार अध्ययन गरेर सूक्ष्म कणहरूको गतिबाट सम्पूर्ण प्रणालीको व्यवहार कसरी व्याख्या गर्न सकिन्छ भन्ने जटिल गणितीय प्रश्नको समाधान प्रस्तुत गरेका हुन् ।

प्रकाशित मिति : ८ श्रावण २०८३, शुक्रबार  ५ : ०२ बजे