नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन, परीक्षणकालमा अत्यावश्यक सवारीलाई मात्र अनुमति



काठमाडौं र धादिङलाई जोड्ने देशकै पहिलो आधुनिक सडक सुरुङमार्ग नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग औपचारिक रूपमा उद्घाटन गरिएको छ सोमबार आयोजित कार्यक्रममा पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले नेपालका लागि जापानी राजदूत मायदा तोरु र जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का अध्यक्ष डा. तानाका अकिहिकोको उपस्थितिमा सुरुङमार्ग उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहमा मन्त्री लम्सालले सुरुङमार्गको शिलान्यासका क्रममा राखिएको तर पछि हराएको तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको नाम अंकित शिलालेख खोजेर पुनर्स्थापना गरिने घोषणा गरे । उक्त शिलालेख तोडफोड गरी हटाइएको भन्दै पछिल्लो समय विभिन्न तहबाट आलोचना हुँदै आएको थियो ।

उनले ‘हराएको शिलालेख खोजेर पुनः स्थापना गरिनेछ’ भन्दै सरकार ऐतिहासिक तथ्य र परियोजनाको योगदानलाई सम्मान गर्ने पक्षमा रहेको बताए ।

मन्त्री लम्सालले नागढुङ्गा सुरुङमार्गले नेपाललाई नयाँ युगमा प्रवेश गराएको उल्लेख गर्दै अब देशका विभिन्न स्थानमा यस्ता सुरुङमार्ग निर्माण गरिने बताए ।

‘अब देशभर यस्ता टनेल बन्छन् । यो टनेलले हामीलाई धेरै कुरा सिकाएको छ । नेपाल अब टनेल युगमा प्रवेश गरेको छ,’ उद्घाटनपछि सञ्चारकर्मीसँग उनले भने ।

आयोजनाका उपनिर्देशक सञ्जय पन्थीका अनुसार सुरुङमार्ग तत्काल सबै सवारीसाधनका लागि खुला गरिने छैन । सुरुका करिब तीन महिनासम्म परीक्षणकाल (ट्रायल ओपनिङ) सञ्चालन गरिनेछ । यस अवधिमा एम्बुलेन्स, दमकल, सुरक्षा निकायका सवारी तथा अन्य अत्यावश्यक सेवाका सवारीसाधनलाई मात्रै सञ्चालन गर्न दिइनेछ । त्यसपछि सुरक्षा तथा ट्राफिक व्यवस्थापनको मूल्यांकन गर्दै निजी तथा सार्वजनिक सवारीलाई चरणबद्ध रूपमा सञ्चालन अनुमति दिइनेछ ।

नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गको सम्भाव्यता अध्ययन विसं २०६६/६७ मा तत्कालीन प्रधानमन्त्री झलनाथ खनाल र डा. बाबुराम भट्टराईको कार्यकालमा गरिएको थियो ।

सुरुङमार्गको शिलान्यास विसं २०७६ कात्तिक ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए भने मुख्य सुरुङको ‘ब्रेकथ्रु’ तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यकालमा गरिएको थियो । अहिले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले यसको औपचारिक उद्घाटन गरेको हो ।

मुख्य सुरुङको लम्बाइ २.६८८ किलोमिटर रहेको छ भने २.५५७ किलोमिटर लामो आपत्कालीन (सहायक) सुरुङ पनि निर्माण गरिएको छ । सुरुङमार्ग काठमाडौंको चन्द्रागिरि नगरपालिका–१ दहचोक टोटीपाखाबाट सुरु भई धादिङको धुनिबेँसी नगरपालिका–स्थित सिस्नेखोलामा पुगेर टुंगिन्छ ।

यसले नागढुङ्गा सडकखण्डमा हुने जाम, उकालो र घुमाउरो सडक छल्न सकिने भएकाले यात्राको समय करिब एक घण्टासम्म बचत हुने अपेक्षा गरिएको छ ।

परीक्षण अवधिभर सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनबाट कुनै शुल्क नलिइने आयोजनाले जनाएको छ । नियमित सञ्चालनपछि भने कार तथा भ्यानले काठमाडौं प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ।

मिनीबस, ट्रक तथा टिपरले प्रवेश गर्दा ११५ रुपैयाँ र बाहिरिँदा ८० रुपैयाँ तिर्नुपर्नेछ । बस तथा ठूला ट्रकले काठमाडौं प्रवेश गर्दा २६० रुपैयाँ र बाहिरिँदा २०० रुपैयाँ शुल्क लाग्नेछ भने हेभी ट्रकका लागि प्रवेश शुल्क ६०० रुपैयाँ र बाहिरिने शुल्क २५० रुपैयाँ तोकिएको छ ।

पैदलयात्री, मोटरसाइकल, स्कुटर, तीनपाङ्ग्रे सवारीसाधन तथा डिजेल, पेट्रोल, ग्यासजस्ता प्रज्वलनशील वा विस्फोटक पदार्थ बोकेका सवारीसाधनलाई सुरुङमार्ग प्रयोग गर्न अनुमति दिइने छैन ।

नेपालको पहिलो आधुनिक सडक सुरुङमार्ग जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को ०.०१ प्रतिशत सहुलियतपूर्ण ऋण तथा नेपाल सरकारको लगानीमा निर्माण गरिएको हो ।

प्रारम्भिक सम्झौताअनुसार ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि कोभिड–१९ महामारी, मुआब्जा विवाद, निर्माण सामग्रीको मूल्यवृद्धि तथा अन्य प्राविधिक जटिलताका कारण आयोजना निर्धारित समयभन्दा ढिलो गरी करिब ८० महिनापछि सञ्चालनमा आएको हो ।

देशको भौतिक पूर्वाधार विकासमा कोशेढुंगाका रूपमा हेरिएको नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गले काठमाडौं उपत्यकाको यातायात व्यवस्थापन सहज बनाउनुका साथै आधुनिक सडक पूर्वाधार विकासतर्फ नेपालले नयाँ फड्को मारेको अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०८३, सोमबार  १२ : २१ बजे