जापानमा ७.१ म्याग्निच्युडको भूकम्प, शपिङ मल भत्किदा धेरै व्यक्ति फसेको आशंका



जापानको दक्षिणपश्चिमी क्षेत्रमा पर्ने क्युसु टापुको कुमामोटो क्षेत्रमा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ । भूकम्पपछि कुमामोटोस्थित एइअन मलको दोस्रो तला भत्किँदा धेरै व्यक्ति भवनभित्र फसेको आशंका गरिएको छ ।

जापानको राष्ट्रिय प्रसारक एनएचकेका अनुसार राष्ट्रिय प्रहरी एजेन्सीलाई उद्धृत गर्दै मलका २० देखि ३० जना कर्मचारी सम्पर्कविहीन भएका छन् । उनीहरू भवनभित्र फसेका हुन् वा होइनन् भन्नेबारे आपत्कालीन उद्धार टोलीले अनुसन्धान गरिरहेको छ ।

प्रारम्भिक जानकारीअनुसार मलका कर्मचारीहरूले भूकम्प लगत्तै ग्राहकहरूलाई सुरक्षित रूपमा बाहिर निकालेका थिए । त्यसपछि भवनमा विस्फोटजस्तो आवाज आएको र दोस्रो तला भत्किएको प्रत्यक्षदर्शीहरूले बताएका छन् ।

जापानी अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीले व्यावसायिक भवनको दोस्रो तला भत्किएको पुष्टि गर्दै उद्धार कार्य तीव्र रूपमा जारी रहेको जनाएको छ ।

जापानी प्रधानमन्त्री सानाए ताकाइचीले घटनापछि केही व्यक्तिहरू घाइते भएको जानकारी प्राप्त भएको बताउँदै उद्धार तथा राहत कार्यका लागि ३,६०० जना आत्मरक्षा बल परिचालन गरिएको जानकारी दिएकी छन् । उनले “मानव जीवन पहिलो प्राथमिकता” को सिद्धान्तअनुसार स्थानीय प्रशासनसँग समन्वय गरेर उद्धार कार्य भइरहेको बताइन् ।

भूकम्प स्थानीय समयअनुसार मंगलबार अपराह्न ४:२७ बजे गएको थियो । यसको केन्द्रबिन्दु करिब १० किलोमिटर गहिराइमा रहेको जापानको मौसम विज्ञान एजेन्सीले जनाएको छ ।

भूकम्पपछि हजारौँ घरमा विद्युत् आपूर्ति अवरुद्ध भएको, सडकहरूमा क्षति पुगेको तथा कुमामोटो क्षेत्रमा एउटा पैदल पुल भत्किएको छ । यसैबीच १ लाख ५० हजारभन्दा बढी मानिसलाई सुरक्षित आश्रयस्थलमा जान निर्देशन दिइएको छ । प्रारम्भिक रूपमा जारी गरिएको सुनामी चेतावनी भने केही समयपछि फिर्ता लिइएको थियो ।

मौसम विज्ञान एजेन्सीका अनुसार मुख्य भूकम्पपछि हालसम्म ६१ वटा परकम्प रेकर्ड भएका छन् । सन् २०१६ मा कुमामोटोमा गएको विनाशकारी भूकम्पपछि जस्तै थप शक्तिशाली परकम्प आउन सक्ने भन्दै अधिकारीहरूले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेका छन् ।

यता अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) ले कुमामोटोबाट करिब १०० किलोमिटर टाढा रहेको सेन्डाइ आणविक विद्युत् केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नदेखिएको जनाएको छ । साथै, टोकियोको हानेडा विमानस्थलमा पनि भूकम्पका कारण दर्जनौँ आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान प्रभावित भएका छन् ।

अधिकारीहरूले उद्धार कार्य जारी रहेकाले हताहत र क्षतिको यकिन विवरण आउन बाँकी रहेको बताएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०८३, मंगलबार  ६ : ५० बजे