नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्र देखिएको असहमति र निराशा तत्काल समाधान गर्न नेता तथा कार्यकर्तालाई अपिल गरेका छन् । पाँच महिनाको स्वास्थ्य उपचारपछि नेपाल फर्किएका देउवाले जारी गरेको विज्ञप्तिमा कांग्रेस एकताबद्ध भएर अन्य राजनीतिक दलसँग समेत सहमति र सहकार्य गर्दै अघि बढ्नुपर्ने बताएका हुन् ।
देउवाले नेपाली कांग्रेस २००७ सालदेखि मुलुकमा भएका राजनीतिक परिवर्तनको नेतृत्व गर्दै आएको उल्लेख गर्दै पार्टीमा विवाद बढ्दा त्यसको असर राष्ट्रिय राजनीतिमा समेत पर्न सक्ने बताएका छन् । कांग्रेस सामूहिकतामा विश्वास गर्ने पार्टी भएकाले सबै नेता, कार्यकर्ता, शुभेच्छुक, समर्थक र मतदाताको भावना समेटेर अघि बढ्नुपर्ने उनको भनाइ छ ।
उनले युवा पुस्ताले माग गरेको परिवर्तनलाई कांग्रेसले आत्मसात् गर्नुपर्ने बताएका छन् । तर नयाँ पुस्ता अघि बढ्नुको अर्थ अनुभवी पुस्ता सबै खराब भएको भाष्य निर्माण गर्नु नहुने भन्दै उनले सामाजिक सञ्जालमा भ्युजको पछाडि लाग्नुभन्दा पार्टीको दायित्व र ऐतिहासिक भूमिकालाई बुझ्न नेता–कार्यकर्तालाई आग्रह गरेका छन् ।
देउवाले आफूले राजनीतिक रूपमा लिनुपर्ने केही नरहेको भन्दै विगतको अनुभव नयाँ पुस्तासँग बाँड्नु आफ्नो दायित्व भएको बताएका छन् । माओवादी सशस्त्र द्वन्द्वदेखि मुलुकका विभिन्न जटिल राजनीतिक घटनाक्रम र कांग्रेसभित्रका विवाद समाधानमा आफूले भूमिका खेलेको स्मरण गर्दै उनले आगामी दिनमा आफ्नो अनुभव नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका छन् ।
युवा पुस्ताको परिवर्तनको आकांक्षा सम्बोधन गर्नु वर्तमान सरकारको दायित्व भएको उल्लेख गर्दै देउवाले सरकारलाई जनताको अपेक्षाअनुसार अघि बढ्न आग्रह गरेका छन् । कांग्रेस परिवर्तन व्यवस्थापनको प्रक्रियामा सहयोग गर्न तयार रहेको, तर हरेक रूपान्तरण विवेक, पारदर्शिता र न्यायका आधारमा हुनुपर्ने उनको धारणा छ ।
देउवाले कांग्रेसलाई व्यक्तिगत स्वार्थ वा इगोका आधारमा नभई जनताको सर्वोपरि हितलाई केन्द्रमा राखेर अघि बढाउनुपर्ने बताएका छन् । उनले पार्टीभित्र निराश अवस्थामा रहेका नेता–कार्यकर्ताको मनोबल बढाउँदै सबैलाई पुनः एकताबद्ध गर्ने समय आएको समेत उल्लेख गरेका छन् ।





प्रतिक्रिया