नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू हिन्दू धर्म मान्ने व्यक्ति भएको स्पष्ट पारेका छन् । साथै, आफू कुनै पनि धर्मको विरोधी नरहेको उनले बताएका छन् ।
आइतबार कांग्रेसको संस्थापन इतर समूहले आयोजना गरेको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै देउवाले धर्मका विषयमा आफूलाई स्पष्ट पार्न आग्रह गरिएको प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । शशांक कोइरालाको अध्यक्षतामा आयोजित कार्यक्रममा देउवाले आफ्नो विवाह र व्रतबन्धसमेत हिन्दू परम्पराअनुसार भएको उल्लेख गरे ।
‘म हिन्दू हुँ, म कसैको विरोधी होइन,’ देउवाले भने । नेपालमा मुस्लिम, किराँतलगायत विभिन्न धर्म मान्ने समुदाय रहेको उल्लेख गर्दै उनले आफू कुनै धर्मको खिलाफमा नरहेको स्पष्ट पारे ।
उनले आफूलाई हिन्दू भन्न र हिन्दू धर्ममा विश्वास गर्न पाउने अधिकार हुनुपर्ने बताए । आफू मन्दिर जाने र पशुपतिनाथको पूजा गर्ने गरेको उल्लेख गर्दै उनले आफू हिन्दू भएको कुरामा कुनै भ्रम नराख्न आग्रह गरे ।
देउवाले नेपाल धर्मनिरपेक्ष मुलुक रहोस् भन्ने आफ्नो चाहना भए पनि अन्तिम निर्णय जनताको इच्छाअनुसार हुने बताए । सम्बोधन सकेर सिटमा फर्किएपछि पनि उनले पटक–पटक धर्मका विषयमा आफ्नो धारणा स्पष्ट पारेका थिए ।
कार्यक्रममा देउवाले आफू लोकतन्त्रको पक्षमा दृढ रहेको प्रसंगसमेत उल्लेख गरे । तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनकालमा आफूले सरकारको आदेश नमानेका कारण जेल जानुपरेको स्मरण गर्दै उनले आफू प्रजातन्त्रविरुद्ध जान नसक्ने अडान लिएको बताए ।
पूर्वराजा ज्ञानेन्द्रसँग जोडिएका विभिन्न विषयमा चर्चा भइरहेका बेला देउवाले आफूले लोकतन्त्रको पक्ष छाड्न नसक्ने स्पष्ट धारणा राखेको समेत बताए ।





प्रतिक्रिया