देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने कांग्रेस इतर समूहको निर्णय



नेपाली कांग्रेसको संस्थापन इतर समूहले पार्टीको १५औँ महाधिवेशन निवर्तमान सभापति शेरबहादुर देउवाकै सभापतित्वमा सम्पन्न गर्ने निर्णय गरेको छ । १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको निर्णय र आयोजनामै १५औँ महाधिवेशन सम्पन्न गर्ने तथा त्यसअघि पार्टीका नियमित गतिविधि देउवाको निर्देशनमा अघि बढाउने निर्णय राष्ट्रिय भेलाले गरेको हो ।

बुधबार र बिहीबार सम्पन्न कांग्रेसको राष्ट्रिय सम्मेलनले देउवाको नेतृत्वमा पार्टी एकताबद्ध हुँदै १५औँ महाधिवेशन सम्पन्न हुने विश्वास व्यक्त गरेको छ । महाधिवेशनसम्म आवश्यक पार्टीका नियमित गतिविधि राष्ट्रिय भेला तथा सम्मेलनका संयोजकले देउवाको निर्देशनमा संयोजन गर्ने निर्णयसमेत गरिएको छ ।

राष्ट्रिय सम्मेलनले नेपालका राजनीतिक दल तथा लोकतान्त्रिक शक्तिहरूसँग संवाद र सहकार्य गर्दै राष्ट्रियता तथा लोकतन्त्रको सुदृढीकरणका लागि सक्रिय रहने निर्णय गरेको छ । २०३३ सालमा बीपी कोइरालाले राष्ट्रिय संकटलाई ध्यानमा राख्दै राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर स्वदेश फर्किएको प्रसंग उल्लेख गर्दै अहिले पनि देश अप्ठ्यारो अवस्थामा रहेको निष्कर्ष सम्मेलनले निकालेको छ ।

त्यस्तै, नेपालको सनातनदेखि चलिआएको धर्म–संस्कृति राष्ट्रिय पहिचान भएको उल्लेख गर्दै सम्मेलनले सनातन धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ । हिन्दू, बौद्ध, किरात तथा प्रकृति धर्मको संरक्षणसँगै धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र प्रत्येक व्यक्ति तथा धार्मिक समुदायको आफ्नो धर्म मान्ने स्वतन्त्रता सुनिश्चित गर्ने प्रस्ताव पारित गरिएको छ ।

सम्मेलनले वर्तमान संविधानमा जनअपेक्षाअनुसार आवश्यक संशोधन गर्नुपर्ने भए संविधानमै रहेको व्यवस्थाअनुसार सम्बन्धित सबै पक्षसँग संवाद गरेर समाधान खोज्ने निर्णय पनि गरेको छ ।

राष्ट्रिय सम्मेलनमा प्रस्तुत विभिन्न प्रस्ताव तथा सुझावलाई समेटेर परिमार्जित प्रस्तावलाई लिखित रूप दिने जिम्मेवारी केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा गठन गरिएको समितिलाई दिइएको छ। समितिमा केन्द्रीय सदस्य उमाकान्त चौधरी र सीता राना सदस्य तथा मीनबहादुर विश्वकर्मा र दीपकप्रसाद कुइकेल सहयोगी रहनेछन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८३, आइतबार  २ : ५३ बजे