प्रधानमन्त्रीसँग प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर भदौ १० गते हुने



प्रधानमन्त्री बालेन शाहसँग प्रतिनिधिसभामा प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ १० गते हुने भएको छ । सभामुख डोलप्रसाद अर्यालले नियमावलीअनुसार प्रश्नोत्तरका लागि उक्त मिति निर्धारण गरेका हुन् ।

प्रतिनिधिसभा नियमावलीको नियम ५६ ले प्रत्येक महिनाको पहिलो हप्ताको कुनै एक दिन बैठकको पहिलो एक घण्टा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि छुट्याउने व्यवस्था गरेको छ । निर्धारित दिन बैठक बस्न नसके त्यसपछि बस्ने बैठकको पहिलो घण्टामा कार्यक्रम सञ्चालन गर्नुपर्नेछ ।

प्रधानमन्त्रीलाई प्रश्न गर्न चाहने सांसदले बैठक सुरु हुनुभन्दा कम्तीमा तीन दिनअघि आफ्नो प्रश्नको विषयबारे सभामुखलाई लिखित जानकारी गराउनुपर्ने व्यवस्था नियम ५८ मा छ ।

प्राप्त प्रश्न स्वीकार गर्ने वा नगर्ने निर्णय सभामुखले गर्नेछन् । प्रश्नोत्तर कार्यक्रमलाई सरकारी तथा अन्य सञ्चारमाध्यमबाट प्रत्यक्ष प्रसारण गर्न सकिने व्यवस्था पनि नियमावलीमा छ ।

यसैगरी, प्रधानमन्त्रीले दिएको जवाफमाथि सदनमा छुट्टै छलफल गर्न नपाइने व्यवस्था नियम ६० मा गरिएको छ ।

प्रतिनिधिसभामा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम नियमित रूपमा सञ्चालन हुन नसकेको विषयमा प्रश्न उठिरहेका बेला सभामुखले भदौ १० गतेका लागि मिति तोकेका हुन् ।

प्रकाशित मिति : १ भाद्र २०८३, सोमबार  ६ : ३९ बजे