काठमाडौं । स्वास्थ्य परीक्षणपछि पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई शुक्रबार शिफा इन्टरनेसनल अस्पतालबाट अडियाला जेल फिर्ता पठाइएको छ । जियो न्युजका अनुसार, अस्पताल पुगेपछि चिकित्सकहरूको ६ सदस्यीय टोलीले इमरानको स्वास्थ्य परीक्षण गरेको थियो ।
रिपोर्टका अनुसार जाँचपछि डाक्टरहरूले इमरानलाई अस्पतालमा भर्ना गरी राख्नुपर्ने आवश्यकता नभएको र जेलमै राख्नु सुरक्षित हुने ठहर गरेको दाबी छ । त्यसपछि इमरानलाई फेरि अडियाला जेल पठाइएको छ । बिहीबार अबेर राति कडा सुरक्षाका बीच रावलपिंडीको अडियाला जेलबाट इमरानलाई इस्लामावादको शिफा अस्पताल ल्याइएको थियो ।
पाकिस्तानी सञ्चारमाध्यमहरुका अनुसार इमरानलाई अस्पताल पुर्याएलगत्तै सुरक्षा व्यवस्था झनै कडा पारिएको थियो । अस्पताल भवनको सबै बत्तीहरू निभाइएको थियो भने डाक्टर र कर्मचारीहरूको मोबाइल फोनहरू नियन्त्रणमा लिइएको थियो । अस्पताल गेट बाहिर रहेका सञ्चारकर्मीहरूलाई समेत त्यहाँबाट हटाइएको थियो ।





प्रतिक्रिया