काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए)का पूर्वअध्यक्ष आरके शर्माले बाढी प्रभावितहरूको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा २५ लाख रुपैयाँ सहयोग गरेका छन् ।
भदौ १० गते तिब्बत हुँदै नेपाल प्रवेश गरेका भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा पुर्याएको अपूरणीय मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै शर्माले सो रकम सहयोग गरेका हुन् ।
शुक्रबार एक विज्ञप्ति जारी गर्दै शर्माले प्राकृतिक विपत्तिको यस घडीमा ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।
पिजन इन्जिनियरिङ ग्रुपका अध्यक्ष समेत रहेका शर्माले विज्ञप्तिमा भनेका छन्, ‘यो सहयोगको अंकभन्दा पनि मातृभूमि संकटमा पर्दा हामी जहाँ भए पनि देशकै साथमा छौँ भन्ने हाम्रो आत्मीय भावना र दायित्वको सानो अभिव्यक्ति हो । देश बाहिर रहे पनि हाम्रो मन सधैँ मातृभूमिमै हुन्छ ।’
विज्ञप्तिमा शर्माले उद्धार र राहत कार्यमा अहोरात्र खटिएका नेपाल सरकार, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय तह तथा गैरसरकारी निकायहरूप्रति उच्च सम्मान व्यक्त गरेका छन् । साथै, प्रत्यक्ष रूपमा प्रभावित क्षेत्रमा पुगेर सहयोग गर्ने गैरआवासीय नेपाली संघका अभियन्ताहरू र मानवीय सद्भाव देखाउने छिमेकी राष्ट्रहरूप्रति पनि उनले आभार प्रकट गरेका छन् ।
पूर्वअध्यक्ष शर्माले विश्वभर छरिएर रहेका सम्पूर्ण नेपालीहरूलाई आफ्नो सामर्थ्यअनुसार बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापनामा सहयोग गर्न हार्दिक अपिल समेत गरेका छन् ।
‘भूकम्प, महामारी र बाढी–पहिरो जस्ता राष्ट्रिय संकटका बेला हामी नेपालीहरू सधैँ एक भएर उभिएका छौँ,’ उनले भनेका छन्, ‘आज फेरि त्यही एकता र मानवीय भावनालाई व्यवहारमा उतार्ने समय आएको छ । हामी सबैले हातेमालो गरेमा पीडितहरूको घाउमा मलम लगाउन र उनीहरूलाई पुनः उठ्नका लागि ठूलो हौसला प्रदान गर्न सक्छौँ ।’





प्रतिक्रिया