सिन्धुपाल्चोक । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बाह्रबिसे नगरपालिकाका ६१ जना नागरिक प्रभावित भएका छन् । तीमध्ये एक जनाको शव फेला परेको छ भने ६० जना अझै बेपत्ता रहेका बाह्रबिसे नगरपालिकाले जनाएको छ ।
बाढीमा बेपत्ता हुनेहरू रोजगारीको सिलसिलामा रसुवा पुगेका बाह्रबिसे नगरपालिकाका नागरिक रहेको नगरपालिकाका मेयर बालकृष्ण बस्नेतले बताए । उनीहरू बेपत्ता भएपछि कतिपय परिवारमा घरको मुख्य आम्दानी गर्ने व्यक्ति नै सम्पर्कविहीन भएकाले परिवारको अवस्था थप कठिन बनेको उनले बताए ।
‘हाम्रा नगरका नागरिक रोजगारीको सिलसिलामा रसुवा गएका थिए । बाढीमा परी ६१ जना प्रभावित भएका छन् । एक जनाको शव भेटिएको छ भने ६० जना अझै हराइरहनुभएको छ । कतिपय परिवारमा कमाएर ल्याउने व्यक्ति नै बेपत्ता भएपछि अहिले बाह्रबिसे नगरपालिका मात्र होइन, सिंगो सिन्धुपाल्चोक नै शोकमा परेको छ,’ मेयर बस्नेतले भने ।
बेपत्ता तथा मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले प्रतिपरिवार १ लाख १५ हजार रुपैयाँ राहत दिने निर्णय गरेको मेयर बस्नेतले बताए । नगरपालिकाको विपद् व्यवस्थापन कोषबाट उक्त रकम उपलब्ध गराइनेछ ।
बाह्रबिसे नगरपालिका–३ का वडाध्यक्ष जीवन भण्डारीले विपद्मा परेका आफ्ना नागरिकका परिवारलाई तत्काल सहयोग आवश्यक भएकाले नगरपालिकाले राहत उपलब्ध गराउने निर्णय गरेको बताए । ‘हामीले आफ्ना नगरवासीलाई तत्काल केही भए पनि सहयोग गर्ने निर्णय गरेका छौँ । केन्द्र सरकारबाट आउने राहत रकम पीडित परिवारसम्म पुग्न कति समय लाग्छ भन्ने यकिन छैन । अहिले आश्रित परिवारलाई निकै गाह्रो भएको छ । त्यसलाई मध्यनजर गर्दै नगरपालिकाको विपद् कोषबाट सहयोग गर्न लागेका हौँ,’ भण्डारीले भने ।
नगरपालिका आफ्ना बेपत्ता नागरिकको खोज तथा उद्धारमा समेत निरन्तर खटिरहेको उनले बताए । सुरक्षा निकाय तथा सम्बन्धित निकायसँग समन्वय गरी बाढी र पहिरो प्रभावित क्षेत्रमा खोजी भइरहेको भण्डारीले जानकारी दिए ।
‘हामी आफ्ना नागरिकहरूको खोज तथा उद्धारमा खटिरहेका छौँ । हाम्रा धेरै नागरिक हराइरहनुभएको छ, तर अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन । आजै पनि केही फेला पर्छ कि भन्ने आशामा बाढी र पहिरो प्रभावित क्षेत्रमा खोज तथा उद्धारमा जुटिरहेका छौँ,’ भण्डारीले थपे ।
बाढीका कारण परिवारका सदस्य बेपत्ता भएपछि उनीहरूको अवस्था बुझ्न र उद्धारको पर्खाइमा रहेका परिवारलाई तत्काल राहत तथा आवश्यक सहयोग उपलब्ध गराउनु चुनौती बनेको छ । नगरपालिकाले बेपत्ता नागरिकको खोजीलाई प्राथमिकतामा राख्दै राहत वितरण र परिवारको आवश्यक सहयोगका लागि समेत काम अघि बढाएको जनाएको छ ।





प्रतिक्रिया