बाढीपीडितको उद्धारसँगै मानसिक परामर्श पनि आवश्यक : नैनसिंह महर



काठमाडौँ। नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य एवं नेविसङ्घका पूर्वअध्यक्ष नैनसिंह महरले भोटेकोशी बाढीपीडितको राहत तथा उद्धारमा सरकार थप गम्भीर र सक्रिय बन्नुपर्ने बताएका छन्। बाढीबाट प्रभावित भोटेकोशी क्षेत्रको स्थलगत अवलोकनपछि प्रतिक्रिया दिँदै उनले त्यहाँका जनताको जनजीवन झनै कष्टकर बन्दै गएकाले राहत तथा उद्धारमा सरकार थप गम्भीर बन्नुपर्ने बताएका हुन्।

‘बाढीका कारण ठूलो जनधनको क्षति भएको छ,’ महरले भने, ‘कैयौँ परिवार विस्थापित भएका छन्।’ थुप्रै नागरिक अझै बेपत्ता रहेको उल्लेख गर्दै उनले थपे, ‘बेपत्ताहरूका आफन्त आफ्ना मान्छे जीवितै फेला पर्छन् कि भन्ने आशामा अझै कुरेर बसेका छन्।’ दुई जनाको जीवितै उद्धार भएको खबरले थप आशा जगाएकाले सरकारले उद्धारमा तीव्रता दिनुपर्ने उनले बताएका छन्।

त्यस क्रममा पीडित परिवारसँग भेटघाट गरी उनीहरूको अवस्था र समस्याबारे महरले जानकारीसमेत लिएका थिए। विपद्को यस कठिन घडीमा कांग्रेस सरकारको साथमा रहेको उनले बताएका छन्। ‘सरकारको प्रयास पर्याप्त नभएको गुनासो पीडितको छ,’ महरले भने, ‘उहाँहरू मानसिक र शारीरिक रूपमा निकै विक्षिप्त हुनुभएको छ।’ राहत र उद्धारसँगै पीडितहरूलाई मानसिक परामर्शको पनि ठूलो खाँचो रहेको उनले औँल्याएका छन्।

समाजका प्रायः सबै वर्ग र क्षेत्र सरकारसँग असन्तुष्ट देखिएको अवस्थामा जनताको दुःख र पीडालाई सम्बोधन गर्ने विषयमा सरकार थप संवेदनशील बन्न आवश्यक रहेको महरको भनाइ छ। ‘जनता संकटमा परेको बेला सरकार जनताको अभिभावक बनेर उभिनुपर्छ,’ उनले भने, ‘राजनीतिक असहमति आफ्नो ठाउँमा होला तर विपद्को समयमा सबै राजनीतिक दल, नागरिक समाज र राज्यका संयन्त्र एक ठाउँमा उभिएर पीडितको जीवन बचाउने र पुनःस्थापना गर्ने काममा केन्द्रित हुनुपर्छ।’

महरले बाढीमा परी ज्यान गुमाउनेहरूप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरेका छन्। बेपत्ता नागरिकहरूको खोजी कार्यलाई तीव्रता दिन, उद्धार कार्यलाई प्रभावकारी बनाउन तथा घरबारविहीन भएका परिवारलाई तत्काल सुरक्षित आवास र आवश्यक राहत उपलब्ध गराउन उनले सरकारसँग आग्रह गरेका छन्। बाढी प्रभावित नागरिकहरूलाई, ‘तपाईंहरू एक्लै हुनुहुन्न, यो संकटमा राज्य, राजनीतिक दल र समाज सबै तपाईंहरूको साथमा छन्,’ भन्ने विश्वास दिलाउनुपर्नेमा उनले जोड दिएका छन्।

विपद्पछि दीर्घकालीन पुनर्स्थापना र पुनर्निर्माणका लागि समेत स्पष्ट योजना बनाएर अघि बढ्नुपर्ने महरले बताएका छन्। प्रभावित क्षेत्रका सडक, पुल, विद्युत्, खानेपानी तथा अन्य भौतिक पूर्वाधारको पुनर्निर्माणसँगै प्रभावित परिवारको जीविकोपार्जन पुनःस्थापित गर्न विशेष कार्यक्रम आवश्यक रहेको उनको भनाइ छ।

प्रकाशित मिति : १९ भाद्र २०८३, शुक्रबार  ४ : ०९ बजे