बनेपा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता वर्षमान पुनले एमालेसँग तत्काल एकता र पद बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका छन् ।
शनिबार काभ्रेको बनेपामा नेकपा खानीखोला सम्पर्क समितिले आयोजना गरेको भेलामा नेता पुनले तत्कालै एमालेसँगको एकता र एकतापछि नेताहरुको बाँडफाँटका हल्लाहरूमा सत्यता नरहेको बताएका हुन् ।
उनले भविष्यमा पार्टी एकता गर्ने विषयमा नेतृत्व तहमा कुराकानी भएको उल्लेख गरे । एमालेसँग प्रदेश सरकारमा सहकार्य भइसकेको भन्दै उनले संविधान तथा लोकतन्त्रको रक्षा र वैदेशिक हस्तक्षेप प्रतिवादका लागि वाम शक्तिहरू तथा आवश्यक पर्दा कांग्रेससँग पनि सहकार्य जारी रहने बताए । एमालेभित्रको आन्तरिक बहस नटुङ्गिँदासम्म तत्कालै पार्टी एकताको अवस्था नरहेको पुनको भनाइ छ ।
त्यस्तै, नेता पुनले संविधान निर्माणमा कुनै त्याग, बलिदान र भूमिका नरहेका शक्तिहरू सरकारमा रहेको भन्दै संविधानको बारेमा सत्तारुढ दल रास्वपाको स्पष्ट धारणा आउनुपर्ने बताए । सरकारप्रति जनताको अपेक्षा धेरै भए पनि नतिजा नआउँदा आक्रोश बढेको उनले टिप्पणी गरे ।
उनले राजदूत नियुक्तिमा पनि सरकारको दोहोरो चरित्र देखिएको बताए । पुराना व्यवस्थाका व्यक्तिहरूलाई राजदूत सिफारिस गरिएकोमा आलोचना गर्दै उनले नयाँ भनिने पार्टीहरू ‘वाशिङ मेसिन’जस्तो बनेको तर्क गरे ।
रसुवा विपद् र उद्धारमा सरकारी उदासीनता देखिएको भन्दै उनले आलोचना गरे । नेता पुनले जनतालाई केवल आलोचनाले मात्र चित्त बुझाउन नसकिने भएकाले आफ्ना कमी–कमजोरी स्वीकार्दै सुध्रिनुपर्ने र जनताको विश्वास पुनः जित्नुपर्नेमा जोड दिए ।





प्रतिक्रिया